बाढी प्रभावितको पुनर्स्थापनामा संघीय सरकार उदासीन : गगन थापा



नुवाकोट,मंसिर ६ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी–त्रिशूली बाढी प्रभावितको पुनर्स्थापनामा संघीय सरकार उदासीन देखिएको बताउनुभएको छ।

आइतबार रसुवा, नुवाकोट र धादिङका विभिन्न बाढी प्रभावित क्षेत्रमा पुगेर पीडितको अवस्था बुझ्नुभएका थापाले प्रभावित नागरिकका लागि दीर्घकालीन बसोबासको व्यवस्था गर्न राज्यले निजी जग्गा खरिद गरेर भए पनि व्यवस्थापन गर्नुपर्ने बताउनुभयो।

उहाँले सुरक्षित बस्ती निर्माणका लागि पहिले सडकको टुङ्गो लगाउनुपर्ने उल्लेख गर्दै सार्वजनिक जग्गा उपलब्ध नभएका स्थानमा निजी जग्गा खरिद गरेर भए पनि पीडितलाई बसोबासको व्यवस्था मिलाउनुपर्ने धारणा राख्नुभयो।

बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउने जानकारी दिँदै थापाले विपद्का बेला सुरुमा सबैको चासो रहने तर समय बित्दै जाँदा प्रभावितका समस्या ओझेलमा पर्ने गरेको बताउनुभयो।

संघीय सरकारले विपद्पछिको पुनर्स्थापनाको काम सकिएजस्तो व्यवहार गर्न खोजेकाले आफू प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न स्थलगत अवलोकनमा निस्किएको उहाँको भनाइ थियो।

यसै क्रममा थापाले धादिङस्थित फुर्केखोलानजिकै पुल निर्माणको तयारी भइरहेको उल्लेख गर्दै त्यहाँ पक्की पुल वा बेलिब्रिज निर्माणको काम तत्काल सुरु गर्न सरकारसँग आग्रह गर्नुभयो।

गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढीबाट प्रभावित नागरिक अझै पनि आवास, सडक तथा आधारभूत पूर्वाधारको समस्यासँग जुधिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्