गौतमबुद्ध विमानस्थल सञ्चालनको आशा, भारतसँग हवाई मार्गमा सहमतिको अपेक्षा



रुपन्देही, मङ्सिर ६ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणसँगै नयाँ हवाई प्रवेशमार्गका विषयमा सहमति हुने अपेक्षा लुम्बिनी क्षेत्रका स्थानीयवासी तथा व्यवसायीले गरेका छन् ।

नेपाल–भारतबीच हवाई मार्ग प्रयोगका विषयमा सहमति जुट्न सके गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आउने र त्यसबाट पर्यटन, उद्योग तथा व्यापारिक गतिविधि बढ्ने विश्वास गरिएको छ ।

भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेश विन्दु उपलब्ध गराउने तथा महेन्द्रनगरलगायत हवाई मार्गलाई दुईतर्फी बनाउने विषयमा सहमति भए पश्चिम नेपालको आर्थिक गतिविधिमा नयाँ सम्भावना खुल्ने व्यवसायीको अपेक्षा छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन गर्न भारतीय हवाई क्षेत्रको प्रयोग महत्वपूर्ण मानिएको छ । विमानस्थलमा रहेको उपकरणमा आधारित अवतरण प्रणाली (आइएलएस) सञ्चालनका लागि समेत भारतीय हवाई क्षेत्रसँग समन्वय आवश्यक पर्ने भएकाले भारतको अनुमति र सहजीकरणले प्रतिकूल मौसममा उडान तथा अवतरण सहज बनाउन सहयोग पुग्नेछ ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, भैरहवाका अध्यक्ष नेत्रप्रसाद आचार्यले गौतमबुद्ध विमानस्थलबाट अन्तरराष्ट्रिय उडानसँगै भारतका दिल्ली, वाराणसी र अयोध्यालगायत सहरमा सीधा हवाई सेवा सञ्चालन गर्न सके नेपालको पर्यटन, उद्योग तथा व्यापारमा सकारात्मक परिवर्तन आउने बताउनुभयो । उहाँले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतीय वायुसेवा कम्पनीलाई भैरहवा विमानस्थलको उडानमा आकर्षित गर्ने र नियमित सेवाका लागि आवश्यक सहजीकरण हुने अपेक्षा व्यक्त गर्नुभयो ।

होटल सङ्घ लुम्बिनीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सके नेपालको पर्यटन क्षेत्रले गति लिने बताउनुभयो । अन्तरराष्ट्रिय हवाई सेवाको सहज पहुँच नहुँदा पर्यटक आगमनमा अपेक्षित वृद्धि हुन नसकेको उल्लेख गर्दै उहाँले विमानस्थल नियमित सञ्चालन हुनु निजी क्षेत्रका व्यवसायीका लागि महत्वपूर्ण उपलब्धि हुने बताउनुभयो ।

विमानस्थल सञ्चालन हुने अपेक्षामा भैरहवा, रुपन्देही, लुम्बिनी तथा आसपासका क्षेत्रमा निजी क्षेत्रले होटल, रिसोर्ट, रेस्टुरेन्ट, यातायात र पर्यटन पूर्वाधारमा ठूलो लगानी गरेका छन् । चेम्बर अफ कमर्स रुपन्देहीका अनुसार यस क्षेत्रमा निजी क्षेत्रको झन्डै एक खर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । तर, विमानस्थल नियमित सञ्चालन नहुँदा लगानीअनुसारको प्रतिफल प्राप्त गर्न नसकिएको व्यवसायीको गुनासो छ ।

ट्राभल एसोसिएसन नेपाल (नाट्टा) का अध्यक्ष चन्द्र थापाले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नेपालको पर्यटन क्षेत्रका लागि महत्वपूर्ण पूर्वाधार भएको बताउनुभयो । विमानस्थल सञ्चालन हुने आशामा पर्यटन व्यवसायीले ठूलो लगानी गरे पनि नियमित अन्तरराष्ट्रिय उडान नहुँदा अपेक्षित लाभ लिन नसकेको उहाँको भनाइ छ । उहाँले विमानस्थल सञ्चालनका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण, जग्गा अधिग्रहण तथा मुआब्जासहित हालसम्म ३५ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७१ माघ १ गते विमानस्थल स्तरोन्नति तथा अन्तरराष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गर्नुभएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २०७९ जेठ २ गते विमानस्थलको औपचारिक उद्घाटन गर्नुभएको थियो ।

शिलान्यासदेखि उद्घाटनसम्म करिब सात वर्ष चार महिना लागेको विमानस्थलमा उद्घाटनकै दिन कुवेतको जजिरा एयरवेजको विमान अवतरण गरेपछि अन्तरराष्ट्रिय व्यावसायिक उडान सुरु भएको थियो । त्यसयता जजिरा एयरवेज, फ्लाई दुबई, कतार एयरवेज, नेपाल वायुसेवा निगम, थाई एयर एसिया र हिमालय एयरलाइन्सले यहाँबाट अन्तरराष्ट्रिय उडान गरेका छन् ।

विमानस्थलको सूचना शाखाका अनुसार हालसम्म ६९ हजार ३७७ यात्रुले सेवा लिएका छन् । तीमध्ये ३१ हजार ९३२ यात्रु नेपाल आएका छन् भने ३७ हजार ४४५ यात्रु यस विमानस्थल प्रयोग गरी विदेश गएका छन् ।

विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर शाहले आवश्यक भौतिक संरचना, उपकरण, डिजिटल प्रविधि तथा अनलाइन प्रणाली उपलब्ध रहेको जानकारी दिनुभयो । नियमित हवाई सेवा सञ्चालनका लागि अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्ने र आवश्यक हवाई मार्गका विषयमा सहजीकरण गर्नु महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा समाजशास्त्री उमेशचन्द्र रिजालले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट भारतका प्रमुख सहरमा सीधा हवाई सेवा सञ्चालन गर्न सके नेपालको पर्यटन तथा आर्थिक विकासमा नयाँ सम्भावना खुल्ने बताउनुभयो । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध रहेका भारतीय सहरसँग हवाई सम्पर्क विस्तार हुँदा लुम्बिनी आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकको आवागमनसमेत सहज हुने उहाँको भनाइ छ ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा राज्यको ठूलो लगानी र त्यसको सञ्चालनको अपेक्षामा निजी क्षेत्रको ठूलो लगानी जोडिएको छ । यस्तो अवस्थामा भारतसँग हवाई मार्ग प्रयोगका विषयमा ठोस सहमति जुट्न सके विमानस्थल नियमित सञ्चालनका लागि महत्वपूर्ण आधार तयार हुने र त्यसले लुम्बिनीमा पर्यटक आगमन बढाउनुका साथै रुपन्देहीसहित पश्चिम नेपालको उद्योग, व्यापार, रोजगारी तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्