उदयपुरका स्थानीय तहमा सहरी विकास कार्यक्रम कार्यान्वयनबारे छलफल



उदयपुर,मंसिर ६ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत सञ्चालन हुने सघन सहरी विकास, बस्ती विकास तथा सडक स्तरोन्नति र सुरक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा उदयपुरका स्थानीय तहका प्रमुख तथा सरोकारवालाबिच छलफल भएको छ ।

आइतबार चौदण्डीगढी नगरपालिकामा आयोजित अभिमुखीकरण तथा छलफलमा आर्थिक वर्ष २०८३/८४ का लागि सप्तरीस्थित सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत विनियोजित विकास कार्यक्रम, बजेट तथा कार्यान्वयन प्रक्रियाबारे जानकारी आदानप्रदान गरिएको हो ।

चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाको कार्यकक्षमा भएको छलफलमा सघन सहरी विकास, बस्ती विकास, सडक स्तरोन्नति, सडक मर्मत तथा सडक सुरक्षा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने विषयमा जोड दिइएको थियो । कार्यक्रममा कार्यान्वयन कार्यविधि, स्थानीय तहको भूमिका, योजना छनोट तथा विकास निर्माणलाई परिणाममुखी बनाउने विषयमा समेत छलफल गरिएको थियो ।

कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकाश अधिकारी, चौदण्डीगढी नगर प्रमुख कालुमान लामा, त्रियुगा नगर प्रमुख बसन्तकुमार बस्नेत, बेलका नगर प्रमुख अशोक कार्की र रौतामाई गाउँपालिका अध्यक्ष विरेन्द्र मगरलगायत विभिन्न स्थानीय तहका जनप्रतिनिधि, प्राविधिक तथा आयोजना सम्बद्ध अधिकारीहरूको सहभागिता थियो ।

त्यसैगरी सघन सहरी तथा भवन निर्माण आयोजना, सप्तरीका आयोजना प्रमुख सञ्जीवकुमार शाह, वरिष्ठ इन्जिनियर राजु न्यौपाने, बेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई, विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य तथा इन्जिनियरहरू सहभागी थिए ।

स्थानीय तहमा सहरी पूर्वाधार विकास, व्यवस्थित बस्ती निर्माण, सडकको गुणस्तर सुधार तथा सुरक्षित आवागमनलाई प्राथमिकता दिँदै विनियोजित विकास कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले छलफल आयोजना गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्