धादिङ महोत्सव फागुन २ देखि १३ गतेसम्म हुने



काठमाडौ।सातौ धादिङ महोत्सव २०७६ फागुन २ देखि १३ गतेसम्म हुने भएको छ। ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ धादिङ उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गर्न लागेको हो ।

महोत्सवका बारेमा आज पत्रकार सम्मेलन मार्फत जिल्लाको कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको प्रचारप्रसार तथा भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै महोत्सवको आयोजना गर्न लागिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीले बताए ।

महोत्सवमा मुख्य आकर्षणको रुपमा कृषि प्रर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण जस्ता आकर्षण रहने छन् । बाह्र दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा कला प्रदर्शन, स्थानीय तहमा उत्पादन हुने बस्तु तथा सेवाको प्रद्धर्शनी, हस्तकलाबाट निर्मित सामग्री, खनिजजन्य बस्तुको प्रर्दशनी, दुग्धजन्य पदार्थको प्रदर्शनी, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल समेत राखिनेछ ।

महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गर्ने आयोजक समितिले जानकारी दिए ।

कार्यक्रम जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङबेसीमा आयोजना हुनेछ।

प्रतिक्रिया दिनुहोस्