चार जिल्लामा सवारी दुर्घटना : आठ जनाको मृत्यु, नुवाकोटमा तीन जनाको ज्यान गयो
काठमाडौं,कात्तिक २३ । देशका विभिन्न चार जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ। नुवाकोट, दैलेख, बर्दिया र कपिलवस्तुमा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो। दुर्घटनामा नुवाकोटमा तीन, दैलेखमा दुई, बर्दियामा दुई र कपिलवस्तुमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बा.९९ प ८२०२ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल विदुर–९ बस्ने ४७ वर्षीय बुद्धिमान तामाङ तथा मोटरसाइकलमा सवार विदुर–१३ बस्ने ३१ वर्षीया बिन्दा थापा मगर र २७ वर्षीया सुनिता थापा मगरको मृत्यु भएको हो। गम्भीर घाइते उनीहरूको त्रिशूली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दैलेखको गुराँस गाउँपालिका–१ काफल तोलीस्थित सडकमा सोमबार बिहान बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र.०२–००१ च १२१५ नम्बरको बोलेरो दुर्घटना हुँदा चालक कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय योगेश सिंखडा र सोही गाउँपालिका–६ का ४१ वर्षीय रने शार्कीको मृत्यु भएको हो। उनीहरूको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको छ। घाइते चार जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–५ वनवीरपुर चौबाटो चोकमा आइतबार राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। सु.प.प्र.०१–००८ प ५८७७ नम्बरको मोटरसाइकल चालक ठाकुरबाबा–५ खुनपुरका ३० वर्षीय महेन्द्र रिजाल र भे.१० प ९९३६ नम्बरको मोटरसाइकल चालक ठाकुरबाबा–४ बर्गदाका २० वर्षीय अभिषेक चौधरीको मृत्यु भएको हो। अभिषेकको जिल्ला अस्पताल बर्दिया र महेन्द्रको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी, कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदवामा बसको ठक्करबाट पैदलयात्री ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ। लु.१ ख ९७२६ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका कपिलवस्तु नगरपालिका–३ लक्ष्मीनगरका अहिरको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।
चारै जिल्लामा भएका दुर्घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

