चितवनलाई १० रनले हराउँदै काठमाडौं गोर्खाज एनपिएलको शीर्ष स्थानमा



काठमाडौं,कात्तिक २३ । चितवन राइनोजलाई १० रनले पराजित गर्दै काठमाडौं गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। सोमबार भएको खेलमा जित निकाल्दै काठमाडौं ८ अंकसहित तालिकाको पहिलो स्थानमा पुगेको हो। जारी सिजनमा काठमाडौं पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो।

काठमाडौंले पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटको हार बेहोरेपछि लगातार चौथो जित निकालेको हो। दोस्रो खेलमा कर्णाली याक्सलाई ४ विकेटले, तेस्रो खेलमा विराटनगर किंग्सलाई ९ विकेटले र चौथो खेलमा लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको थियो। लगातारको जितसँगै काठमाडौंको प्लेअफ सम्भावना बलियो बनेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा जितका लागि १८ रन आवश्यक हुँदा चितवनले ७ रन मात्र जोड्न सकेपछि काठमाडौं १० रनले विजयी भयो।

चितवनका रवि बोपाराले सर्वाधिक ५५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ३४ बलमा २ चौका र ३ छक्का प्रहार गरे। डान मुस्लीले २९, कमिल मिसाराले २८, अर्जुन साउदले २४ र कुशल मल्लले १३ रन बनाए।

काठमाडौंका सहानले २ विकेट लिए भने जहानदाद खान, करण केसी, सन्तोष यादव र गणेश गौतमले समान १ विकेट लिए। अन्तिम ओभरको दोस्रो बलमा करण केसीले रवि बोपारालाई भिम सार्कीबाट क्याच गराएपछि खेल काठमाडौंको पक्षमा पुगेको थियो।

यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको थियो। सुरुवाती ३.२ ओभरमै २ विकेट गुमाएको काठमाडौंका लागि विलियम बसिस्टो र रासिद खानले तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गरेका थिए। बसिस्टोले २७ रन बनाए।

त्यसपछि रासिद खान र सहानले चौथो विकेटका लागि ५३ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए। रासिदले ३० बलमा २ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ५२ रन बनाए। सहानले २० बलमा ३ चौका र २ छक्कासहित ३३ रन जोडे।

कप्तान करण केसीले ७ बलमा ३ छक्कासहित २० रन बनाए। साहिल पटेलले ८, आदिल आलमले ९ र डेविड वार्नरले १ रन बनाए। चितवनका रिजन ढकालले ३ विकेट लिए भने सिकन्दर राजा र कमल ऐरीले समान २ तथा डान मुस्लीले १ विकेट लिए।

चितवनले काठमाडौंसँग पराजित भएपछि अंकतालिकाको दोस्रो स्थानमा उक्लने अवसर गुमाएको छ। चितवनले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ रनले हराएको थियो भने सुदूरपश्चिम रोयल्ससँग ५ विकेटले पराजित भएको थियो। पोखरा एभेन्जर्सलाई ३० रनले हराएको चितवनले लुम्बिनी लायन्ससँग वर्षाका कारण अंक बाँडेको थियो।

सोमबार नै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको थियो। पोखराले दिएको २१८ रनको लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा १५४ रनमा अलआउट भएको थियो। टस जितेर ब्याटिङ गरेको पोखराले २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनाएको थियो।

एनपिएलमा मंगलबार एक खेल हुनेछ। पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र दुवै संस्करणका उपविजेता सुदूरपश्चिम रोयल्सबीचको खेल साँझ ५ बजे सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्