तिहारमा देउसी–भैलो २४सै घण्टा सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन
काठमाडौं,कात्तिक २३ । गृह मन्त्रालयले तिहार पर्वका अवसरमा परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
मन्त्रालयले सोमबार सचिवस्तरीय निर्णय गर्दै नेपाली मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र सामाजिक सद्भाव कायम हुने गरी अनुशासित रूपमा देउसी–भैलो सञ्चालन गर्न दिन पत्राचार गरेको हो।
मन्त्रालयले देउसी–भैलो कार्यक्रम पूर्ण रूपमा स्वेच्छिक र मर्यादित हुनुपर्ने स्पष्ट पारेको छ। कसैलाई चन्दा वा दक्षिणा दिन बाध्य पार्न नहुने तथा विभिन्न जातजाति, धर्म, भाषा, लिङ्ग र समुदायप्रति घृणा तथा द्वेष फैलाउने अश्लील नृत्य, गीत, सङ्गीत र नाराको प्रयोगमा रोक लगाउन निर्देशन दिएको छ।
त्यसैगरी, तिहारका अवसरमा जुवातास नखेल्न, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न तथा मादक पदार्थ वा लागूऔषध सेवन गरी सवारीसाधन नचलाउन मन्त्रालयले आग्रह गरेको छ।
अत्यधिक ठूलो आवाजमा ध्वनि उपकरण प्रयोग नगर्न, अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन तथा सार्वजनिक र निजी सम्पत्तिको संरक्षण गर्न पनि निर्देशन दिइएको छ। वातावरणीय स्वच्छता कायम राख्दै जथाभावी फोहोरमैला नगर्न मन्त्रालयले सचेत गराएको छ।
देउसी–भैलो सञ्चालन वा चाडपर्व मनाउने क्रममा शङ्कास्पद गतिविधि देखिएमा, दुर्घटना भएमा वा कुनै समस्या उत्पन्न भएमा तत्काल प्रहरीको नियन्त्रण कक्ष १०० वा आपतकालीन कार्य सञ्चालन केन्द्र (DEOC) को १२३४ नम्बरमा सम्पर्क गर्न मन्त्रालयले नागरिकलाई अनुरोध गरेको छ।

