पूर्व सचिव कार्कीकी पत्नी मुनाको हत्या पछि किन गरे चौधरीले आत्महत्या?



काठमाडौं,  माघ-२७। पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्या भएको छ।उनलाई सानेपास्थित आफ्नै घरमा काम गर्ने कामदार विजय चौधरीले हत्या गरेको खुल्न आएको छ। प्रहरीका अनुसार सीसीटीभी फुटेजमा बिहान १०बजे चौधरी भान्सा कोठामा गएको देखिन्छ।लगत्तै कार्की पछाडी फर्किएको बेला डोरीले घाँटीमा कसी भुइँमा लडाएर पिर्का प्रहार गरेको फुटेज प्राप्त गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

आज मध्याह्न १२ बजेतिर घरमा अचेत अवस्थामा भेटिएकी मुनालाई स्टार अस्पतालमा पुर्याउने बित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो ।

उनको टाउकोमा गम्भीर चोट लागेको छ भने कामदार  विजय चौधरी भने डाइनिङ हलमा झुण्डिएको अवस्थामा फेला परेका थिए।चौधरीले हत्यापछि किन आत्महत्या गरे अनुसन्धान भैरहेको  महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकबहादुर राईले बताउनुभयो।

मृतक मुनाका पति पूर्व सचिव कार्की पशुपतिनाथमा सोमबारको पूजा गरी फर्कंदा कामदार चौधरी झुण्डिएको र श्रीमती मुना कार्की रगतले लतपतिएको अवस्थामा फेला परेका थिए।

घटनाको कारणबारे थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्