नागरिकलाई संयम, धैर्य र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री साहको आग्रह
काठमाडौं,साउन १३ । सुनसरी घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाबीच प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले नागरिकलाई संयम, धैर्य र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सम्बोधन गर्दै उनले सुनसरीमा भएको घटनाबाट आफू प्रधानमन्त्रीका रूपमा मात्र नभई एक नागरिकका रूपमा पनि गहिरो दुःखी भएको बताएका छन्।
प्रधानमन्त्री बालेनले घटनामा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले पीडित परिवारले भोगिरहेको पीडा आफूले महसुस गरेको उल्लेख गर्दै सरकारले यथाशीघ्र न्याय र क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। साथै घटनाका दोषीलाई कानुनबमोजिम कारबाही गरिने विश्वास पनि दिलाएका छन्।
उनले सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान जानु र घाइते हुनु कुनै पनि दृष्टिले सामान्य विषय नभएको उल्लेख गर्दै त्यसबारे अनुसन्धान सुरु भइसकेको र कानुनी प्रक्रिया अघि बढ्ने बताएका छन्। घटनाको सुरुदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको भए पनि त्यो पर्याप्त हुन नसकेको स्वीकार गर्दै यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय र समीक्षा भइरहेको जानकारी दिएका छन्।
प्रधानमन्त्री बालेनले मृतकका परिवार र घाइतेलाई न्यायको अनुभूति गराउन सरकारले आफ्नो सम्पूर्ण शक्ति लगाएर छिटो परिणाम दिने प्रतिबद्धता दोहोर्याएका छन्। त्यसअघि सबैलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्याग्न आग्रह गर्दै धर्मले पनि मानव जीवनको रक्षा गर्न सिकाउने उल्लेख गरेका छन्।
उनले सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, दोषीलाई कारबाही गर्नु र पीडितलाई न्याय तथा क्षतिपूर्ति उपलब्ध गराउनु रहेको स्पष्ट पारे। अन्त्यमा उनले नागरिकलाई रिस, डर र आक्रोशबाट टाढा रहन, कुनै पनि उत्तेजनात्मक गतिविधिमा सहभागी नहुन तथा प्रेम, सम्मान र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।

