देवानगञ्ज घटनापछि प्रधानमन्त्री कार्यालयको शान्ति अपिल, हिंसा र भ्रामक सूचनाबाट प्रभावित नहुन आग्रह
काठमाडौं, साउन १३ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै हिंसा, उत्तेजना र भ्रामक सूचनाबाट प्रभावित नहुन सबैसँग अपिल गरेको छ।
मंगलबार जारी विज्ञप्तिमा कार्यालयले सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघसंस्था, सञ्चारमाध्यम तथा सर्वसाधारणलाई सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न संयमित भूमिका निर्वाह गर्न आग्रह गरेको हो।
कार्यालयका अनुसार साउन १० गते देवानगञ्जमा भएको घटनामा ज्यान गुमाएकाप्रति सरकारले श्रद्धाञ्जली व्यक्त गरेको छ भने घाइते र घटनामा खटिएका सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
विज्ञप्तिमा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको उल्लेख गर्दै घटनाको सत्यतथ्य छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारीसहित गृह मन्त्रालयले छानबिन समिति गठन गरेको जानकारी दिइएको छ।
सरकारले पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने तथा घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता पनि दोहोर्याएको छ।


