कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त



काठमाडौं, साउन १३ । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मंगलबार शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।

शाही कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्री बन्नुभएको छ। उहाँलाई मुख्यमन्त्री नियुक्त गर्न नेकपाका १४ र नेकपा एमालेका १० गरी २४ जना प्रदेशसभा सदस्यको समर्थन रहेको थियो। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भीमराज थानीका अनुसार दुवै दलको निर्णय र बहुमत सदस्यको समर्थनका आधारमा मुख्यमन्त्री नियुक्त गरिएको हो।

यसअघि शाहीले गठबन्धनमा रहेका नेकपा एमालेका १० र नेकपाका १४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गर्नुभएको थियो। ४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठनका लागि २१ जना सांसदको समर्थन आवश्यक पर्छ।

नेकपा र एमालेबीच भएको सत्ता गठबन्धनअनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री नेकपाले लिने सहमतिअनुसार शाही मुख्यमन्त्री बन्नुभएको हो।

कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपाका १४, एमालेका १० तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना सांसद रहेका छन्। मुगु प्रदेशसभा ‘ख’बाट निर्वाचित शाही यसअघि कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्