नुवाकोट विदुरका दुई वडामा अनुदानमा विद्युतीय चुल्हो वितरण, एक हजार एक सय घरधुरी लाभान्वित
नुवाकोट, साउन १३ । नुवाकोटको विदुर नगरपालिकाका दुई वडामा वडावासीको सुविधा तथा स्वच्छ ऊर्जाको प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले अनुदानमा विद्युतीय चुल्हो वितरण गरिएको छ। विदुर नगरपालिका–२ र ५ ले संयुक्त रूपमा एक हजार एक सय घरधुरीलाई ७० प्रतिशत अनुदानमा विद्युतीय चुल्हो उपलब्ध गराएका हुन्।
विदुर–२ मा ६ सय र विदुर–५ मा पाँच सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण गरिएको हो। वडावासीले रु. १ हजार २४० योगदान गरेपछि बाँकी रकम ७० प्रतिशत अनुदानमार्फत उपलब्ध गराइएको विदुर–२ का वडाध्यक्ष दीपक कायस्थले जानकारी दिनुभयो।
उहाँका अनुसार ग्यासलगायत अन्य ऊर्जाको तुलनामा विद्युतीय चुल्हो बढी किफायती भएकाले यसको प्रयोगलाई प्रोत्साहन गरिएको हो। सरकारले विद्युतमा लगाएको कर हटाएर आम नागरिकलाई विद्युतमा आधारित बनाउने नीति अवलम्बन गर्नुपर्ने उहाँको धारणा छ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा सञ्चालन गरिएको कार्यक्रममा दाउरा र ग्यासको खपत घटाई जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्य राखिएको विदुर–२ का वडासदस्य रञ्जनकुमार थापामगरले बताउनुभयो।
उहाँले विद्युतीय चुल्होको प्रयोगबाट घरायसी ऊर्जामा हुने खर्च घट्नुका साथै आयातित इन्धनमाथिको निर्भरता कम हुने विश्वास व्यक्त गर्नुभयो। स्थानीयवासीको आवश्यकता र मागलाई मध्यनजर गर्दै विद्युतीय चुल्हो वितरण गरिएको वडा कार्यालयले जनाएको छ।

