त्रिशूली अस्पतालमा सांसद डा. लामिछानेको अनुगमन, ३ सय शय्याको सुविधासम्पन्न अस्पताल बनाउने योजना





नुवाकोट, साउन १३ । नुवाकोटको करिब ६ दशक पुरानो त्रिशूली अस्पताललाई स्तरोन्नति गरी विशेषज्ञ स्वास्थ्य सेवासहितको सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्ने विषयमा सरोकारवालाबीच छलफल गरिएको छ। नुवाकोट–२ का प्रतिनिधिसभा सदस्य डा. अचुतम लामिछानेले सोमबार अस्पतालको स्थलगत अनुगमन गर्दै व्यवस्थापन र कर्मचारीसँग दीर्घकालीन विकास योजनाबारे अन्तरक्रिया गर्नुभएको हो।

अनुगमनका क्रममा अस्पतालको भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण तथा प्राविधिक अवस्थाको निरीक्षण गरिएको थियो।छलफलमा अस्पतालको भौतिक संरचना सुदृढीकरण, आधुनिक सुविधासहित नयाँ भवन निर्माण, नर्सिङ कलेज स्थापना, विशेषज्ञ स्वास्थ्य सेवाको विस्तार तथा हालको एक सय शय्याको अस्पताललाई चरणबद्ध रूपमा तीन सय शय्याको सुविधासम्पन्न अस्पतालमा स्तरोन्नति गर्ने अवधारणामाथि विशेष छलफल भएको थियो।

सांसद डा. लामिछानेले नुवाकोट, रसुवा र धादिङ आसपासका नागरिकले आफ्नै क्षेत्रमा गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ आवश्यक समन्वय, पहल र सहयोगलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अस्पतालका निमित्त प्रमुख डा. राजेन्द्र लामासहितका चिकित्सक तथा कर्मचारीले अस्पतालका विभिन्न सेवा, स्वास्थ्य उपकरण र पूर्वाधारको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।अनुगमनपछि सांसद लामिछानेसहितको टोलीले त्रिशूली अस्पतालको भौतिक तथा प्राविधिक विकासलाई तीव्रता दिन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ।

त्रिशूली अस्पतालमा हाल आकस्मिक तथा बहिरङ्ग सेवामार्फत दैनिक करिब पाँच सय बिरामीले स्वास्थ्य सेवा लिँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्