नेपाली विद्यार्थी लिन विमान  वुहान उड्यो



काठमाडौं,फागुन-३।नेपाली विद्यार्थी लिन वायुसेवा निगमको वाइडबडी विमान शनिबार त्यसतर्फ उडेको छ।चीनको हुवेई प्रान्तको वुहानमा उद्धारको पर्खाइमा रहेका १ सय ८५ नेपाली विद्यार्थी लिन विमान त्यसतर्फ प्रस्थान गरेको हो ।

उद्धारका लागि चीन तर्फ प्रस्तान गरेको उक्त विमानमा चिकित्सकको नेतृत्वमा चारजना स्वास्थ्यकर्मी रहेको मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालले बताउनुभयो।उनका अनुसार वुहानबाट मध्यरातिसम्म नेपाली ल्याइनेछ ।

उडान समयमा उक्त टोलीले नेपाली विमानमा चढाउने, ओराल्नेलगायत अन्य मनोवैज्ञानिक परामर्श दिनेछन् । त्यसका लागि पाइलट, विमानका क्रु सदस्य र स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिइसकिएको छ ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार सुरक्षा संवेदनशीलता एवं उच्च स्वास्थ्य जोखिमका कारणले विमानस्थल र क्वारेन्टाइनस्थलमा परिवारका सदस्यलाई भेट्न रोक लगाइएको  जानकारी दिइएको छ ।

मन्त्रालयले क्वारेन्टाइन स्थल वरपरका समुदायका बासिन्दामा सम्भावित संक्रमणबारे त्रसित नरहन र संयमित व्यवहार गरिदिन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्