विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १८ पुग्यो



जनकपुर, चैत- ३ । विषाक्त घरेलु मदिरा सेवनबाट धनुषामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ र २ रमदैया टोलमा १३ र जनकपुरधाम उपमहानगरपालिका–७ मुसहरी टोलमा चार र लक्ष्मीनिया गाउँपालिका–६ मा एक गरी १८ जनाको मृत्यु भएको हो।

प्रादेशिक अस्पताल जनकपुरमा उपचार गराइरहेका लक्ष्मीनिया गाउँपालिका–६ का ५५ वर्षीय रतन दासको मृत्यु भएसँगै विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १८ पुगेको हो। घरेलु मदिराका नियमित सेवनकर्ता दास रक्सी लागेकै अवस्थामा उपचारार्थ अस्पताल पुगेका थिए।

विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु हुने रमदैयाका १३ जनामध्ये प्रहरीले नौजनाको मात्र पुष्टि गरेको छ। प्रहरीले पुष्टि गरेका मृतकमा ४७ वर्षीय शत्रुधन मण्डल, ५५ वर्षीय श्रीदेव यादव, २५ वर्षीय इन्द्रजित महरा, ३५ वर्षीय ब्रह्मदेव यादव, ४० वर्षीय रामविलास मण्डल, ६५ वर्षीय गुदरी महरा, ३६ वर्षीय रामनारायण महरा, ३० वर्षीय राजु महरा, ५० वर्षीय रामप्रसाद यादव छन्।

फागुन २८ गते बुधबार होली पर्वका अवसरमा मासु र रक्सी खाएका उनीहरूको मृत्यु हुने क्रम बिहीबारदेखि सुरु भएको थियो। त्यही क्रममा आइतबार बिहान जानकी मेडिकल कलेजमा रमदैयाका रामप्रसाद यादव र प्रादेशिक अस्पतालमा लक्ष्मीनियाँका रतन दासको तथा जनकपुर मुसहरीका जितेन्द्र सदाको मृत्यु भएको आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्