साउने दोस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो



काठमाडौं,साउन ११। साउन महिनाको दोस्रो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको उल्लेखनीय भीड लागेको छ। साउने झरीको समेत पर्वाह नगरी श्रद्धालुहरू बिहानैदेखि भगवान् शिवको दर्शन र पूजाआराधनाका लागि मन्दिर पुगेका छन्।

पशुपति क्षेत्र विकास कोषका अनुसार बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको हो। कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले साउने वर्षाका बीच पनि भक्तजनको उत्साह उल्लेखनीय रहेको बताउँदै दर्शनलाई सहज र सुरक्षित बनाउन आवश्यक सबै व्यवस्था मिलाइएको जानकारी दिनुभयो।

कोषले यसपटक पहिलो सोमबारको अनुभवका आधारमा थप व्यवस्थापन गरेको जनाएको छ। दर्शनार्थीको सुरक्षा, भीड व्यवस्थापन र पूजाआराधनालाई मर्यादित बनाउन कोषका पदाधिकारी तथा कर्मचारीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी तथा विभिन्न धार्मिक र सामाजिक संस्थाहरू परिचालित छन्।

कोषका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार लाखौँ भक्तजनलाई सहज रूपमा दर्शन गराउने लक्ष्यसहित मन्दिर परिसरमा चार वटा लामको व्यवस्था गरिएको छ। बिहानदेखि भक्तजनको आगमन भए पनि अत्यधिक लाम भने नदेखिएको जनाइएको छ। दर्शनार्थीका लागि प्राथमिक उपचारसहित आवश्यक सबै सेवा उपलब्ध गराइएको छ।

आज विशेष पूजा बिहान ८ः३० बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ भने मन्दिरका चारै ढोका बेलुका आरती सम्पन्न भएपछि राति ८ बजेसम्म खुला रहनेछन्।

पशुपतिनाथसँगै गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, मक्खन महादेवलगायत काठमाडौं उपत्यकाका प्रमुख शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ। देशभरका शिव मन्दिरमा पनि साउने सोमबारको अवसरमा श्रद्धालुहरूले शिवपूजा, जलाभिषेक र दर्शन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्