कांग्रेस एकता सहमतिउन्मुख, विभाजन बढाउने गतिविधि नगर्न गगन थापाको आग्रह
काठमाडौं,साउन ११ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकता सहमतिउन्मुख रहेको बताउँदै वर्तमान चुनौती सामना गर्न कांग्रेसभित्रको एकता अपरिहार्य रहेको बताएका छन्। काङ्ग्रेस समर्थित स्थानीय तहका जनप्रतिनिधिहरूसँग आइतबार भएको भेटमा सभापति थापाले पार्टी एकतामा असर पुग्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको नेपाल नगरपालिका सङ्घका अध्यक्ष तथा दबाब अभियानका संयोजक भीम ढुङ्गानाले जानकारी दिए।
थापाले पार्टी एकताका लागि असन्तुष्ट नेताहरूसँग छलफल अघि बढिरहेको र सहमतिको खाका तयार गर्न दुई–दुई जना सदस्य रहने चार सदस्यीय कार्यदल एक–दुई दिनभित्र गठन हुने जानकारी दिएको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले बताए।
यसैबीच, पार्टी एकताका लागि दबाब अभियानले साउन १६ गते आयोजना गर्ने तय भएको राष्ट्रिय भेला पनि तत्कालका लागि स्थगित गर्न सभापति थापाले आग्रह गरेका छन्। भेटका क्रममा स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी एकताबिना गाउँ–गाउँमा जनतामा आशा जगाउन र कांग्रेसको साख पुनःस्थापित गर्न नसकिने धारणा राख्दै तत्काल एकता कायम गरी आमजनतामा विश्वासको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए।
तिलागुफा नगरपालिकाका नगरप्रमुख शङ्कर उपाध्यायका अनुसार सभापति थापाले कांग्रेस एकतामा पुग्ने र पार्टी पुनः एकढिक्का हुनेमा आफू विश्वस्त रहेको बताएका थिए। कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कार्कीले भने दबाब अभियानको खबरदारी जारी रहने र राष्ट्रिय भेला गर्ने–नगर्ने विषयमा थप छलफलपछि निर्णय गरिने जानकारी दिए।
भेटमा नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गाना, गाउँपालिका महासङ्घका उपाध्यक्ष लक्ष्मण शाही, हलेसी नगरपालिकाकी नगरप्रमुख विमला राई, चरिकोट नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपाने, कागेश्वरी मनोहराका नगरप्रमुख उपेन्द्र कार्की, तिलागुफाका नगरप्रमुख शङ्कर उपाध्याय, शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारी, तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरि महर्जन तथा दबाब अभियान प्रचारप्रसार समितिका संयोजक सरोज अधिकारीलगायतको सहभागिता रहेको थियो।

