अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु, घटनाबारे अनुसन्धान जारी
कावासोती,साउन ११। नवलपुरको गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर नजिक अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
स्थानीयवासीले दुई महिला अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि अस्थायी प्रहरी पोस्ट बेल्डिहाबाट खटिएको प्रहरी टोलीले दुवैलाई उपचारका लागि नगर अस्पताल भेडाबारी पुर्याएको थियो। अस्पताल पुगेलगत्तै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो।
मृत्यु हुनेमा बागलुङको जैमिनी नगरपालिका–९ घर भई गैंडाकोट नगरपालिका–१२ मा बस्दै आएकी ३८ वर्षीया कविता राई र भोजपुर घर भई गैंडाकोट नगरपालिका–१० स्थित एक गाई फार्ममा कार्यरत ४५ वर्षीया कान्छी राई रहेको प्रहरीले जनाएको छ।
घटना शंकास्पद देखिएकाले मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको छ।

