सुनसरी तनावग्रस्त : झडपपछि प्रहरीको गोली लागेर एक युवाको मृत्यु, चार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु



इनरुवा,साउन ११ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाका चार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम सोमबार बिहान १ बजेदेखि अर्को सूचना जारी नभएसम्म हरिनगर बजार, भुटाहा बजार, कप्तानगञ्ज बजार र घुस्की बजार क्षेत्रमा कर्फ्यु लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

आइतबार राति भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति करिब ११ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहेको एक समूह र रातिको समयमा डिजे बजाएर होहल्ला गरेको भन्दै विरोध गर्ने अर्को समूहबीच विवाद सुरु भएको थियो। विवाद चर्किएपछि झडप भएको र स्थिति हिंसात्मक बनेको जनाइएको छ।

झडपका क्रममा बजार क्षेत्रका घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनी भएको प्रहरीले जनाएको छ।अवस्था नियन्त्रणमा लिन सुरुमा अश्रुग्यास प्रहार र हवाई फायर गरिएको थियो। त्यसपछि पनि स्थिति नियन्त्रणमा नआएपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ।

घटनामा प्रदर्शनकारी र प्रहरीसहित १६ भन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ।उनीहरूको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम, कोशी अस्पताल तथा नोबेल मेडिकल कलेजलगायतका अस्पतालमा उपचार भइरहेको छ।

झडपमा प्रहरी निरीक्षक राकेश राईसहित आठ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। अधिकांश सुरक्षाकर्मीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रशासनले कर्फ्यु अवधिभर चार–पाँच जनाभन्दा बढी भेला हुने, जुलुस, प्रदर्शन, सभा, बैठक तथा नाराबाजी गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। आदेश उल्लंघन गरेमा एक हजार रुपैयाँसम्म जरिवाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने चेतावनी दिइएको छ।

घटनापछि इनरुवामा जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेको थियो। बैठकले अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउनु परेको निष्कर्ष निकालेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्