देशभर मनसुन सक्रिय, धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको चेतावनी



काठमाडौं, साउन ११ — देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले केही प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। अहिले हिमाली र पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि बदली रहने विभागले जनाएको छ। हिमाली क्षेत्रका केही स्थान तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ। कर्णाली प्रदेशको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी–नाला आसपास, पहिरो जोखिमयुक्त क्षेत्र तथा यात्रा गर्दा विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्