भक्तपुरमा महिलाको विभत्स शव फेला



भक्तपुर,चैत-१८।भक्तपुरमा महिलाको विभत्स शव फेला परेको छ।मध्यपुर थिमि नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको विभत्स हत्या गरी फ्याँकेको  अवस्थामा शव फेला परेको हो।टाउको नभएको उक्त शव  एक साताअघि हत्या गरेर खोलामा फ्याँकेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

शव प्रहरीले हिजो साँझ खोलामा भेटेपछि महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान र अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहसहितको नेतृत्वको टोलीले घटनास्थलको अनुसन्धान गरी राति शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ ।

गठ्ठाघरको नागरिक अस्पताल पछाडिबाट फलामे पुलतर्फ जाने हनुमन्ते करिडोर निर्माण भइरहेको खोलामा करिब २८ देखि ३० वर्ष उमेरकी नीलो सुरुवाल र कलेजी रङको कुर्था लगाएको, टाउको नभएको, तिघ्रा र खुट्टामा जनावरले खाएकोजस्तो कोतरेको र बायाँ हातको नाडीमुनिको भाग नभएको पहिचान खुल्न नसकेको एक महिलाको विभत्स अवस्थामा घाँटी काटेर फ्याँकिएको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।

घटनास्थलमा प्रहरीले प्लाष्टिक, झोला, बोरा, बोरा बाँधेको तारलगायतका सामग्रीहरु बरामदसगै अवस्था हेर्दा अन्य ठाउँबाट  हत्या गरी यहाँ ल्याएर फ्याँकेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस्