राष्ट्रपति भण्डारीको सन्देश:कोरोना भाइरस घरमै बसेर रोक्नुको विकल्प छैन



काठमाडौं, चैत-२२। राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा कुनै भावनामा नबगी कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारमा सरकारले चालेका कदममा साथ दिन आह्वान गरेकी छिन् ।

नोवल कोरोना भाइरस (कोभिड–१९) बाट उत्पन्न विश्वव्यापी महामारीका बिषयमा शुक्रबार साझ सन्देश  जारी गर्दै राष्ट्रपति भण्डारीले हाम्रो संयमताले नै सिङ्गो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने बताए । जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी सङ्क्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर नै नेपाल सरकारले पूरै देशमा लकडाउन गरेको बताउदै उनले यदि सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैलाई आफ्नो स्वास्थ्यमा आवश्यक ध्यान दिन आग्रह गरेकी छन् ।

संसारका सबैजसो मुलुकमा फैलिइरहेको यस महामारीबाट नेपाल अछुतो रहन नसके पनि अहिलेसम्म नेपालमा आन्तरिक संक्रमण नदेखिएको बरु बाहिरबाट संक्रमित भई आएकाहरुलाई पत्ता लगाएर उपचार गरिएको अवस्था भएको बताउँदै राष्ट्रपति भण्डारीले नेपाल सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले नै यो सीमित रहेको र फैलन नपाएको स्पष्ट गरेकी हुन् ।
यस विश्वव्यापी महामारीका समयमा संसारका विभिन्न मुलुकमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई आआफ्नो ठाउँमा आवश्यक सतर्कतासहित सुरक्षित रहन आह्वान गर्दै राष्ट्रपतिले नेपालीहरू जो जहाँ हुनुहुन्छ यथास्थानमा रहेर कोरोनाविरुद्धको लडाइँलाई सफल पार्न योगदान गर्नुहुनेछ भन्ने अपेक्षासमेत व्यक्त गरेकी छिन् । विभिन्न देशमा रहनुभएका नेपालीलाई कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन सम्बन्धित देशले देखाएको तत्परताका लागि उनले सबै मित्रराष्ट्रप्रति आभार प्रकट गरेकी छिन् । साथै कोरोना भाइरसविरुद्ध जुध्न विभिन्न अन्तरराष्ट्रिय सङ्घसंस्थाबाट प्राप्त सहयोग र सहयोगको प्रस्तावका लागि सम्बद्ध पक्षलाई उहाँले धन्यवाद दिएकी छिन् ।

पूरै देश लकडाउन गर्नुपर्ने परिस्थितिले हाम्रो अर्थतन्त्रलाई पनि प्रतिकूल प्रभाव पारेको छ । यसले सम्पूर्ण उद्योगधन्दा र व्यापार व्यवसायलाई नकारात्मक असर पुर्याएको स्मरण गर्दै यस कठिन परिस्थितिमा अहोरात्र खट्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सम्पूर्ण सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रसँग सम्बद्ध सबैलाई धन्यवाद व्यक्त गरेकी छन।

साथै आगामी समयमा यस महामारीविरुद्धको लडाइँमा आआफ्ना तर्फबाट सक्दो योगदान गर्न सम्पूर्ण राजनीतिक दल, उद्योगपति, व्यापारी, विज्ञ, सञ्चारकर्मी, स्थानीय समुदाय एवं स्वयंसेवी संस्थालाई उनले आह्वान गरेकी छिन् । सम्पूर्ण राष्ट्र एक जुट भएर अगाडि बढेमा कोरोना भाइरसमाथि अवश्य विजय हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सबैको सुस्वास्थ्यको कामना गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्