कोरोना कोषलाई नगर प्रमुखले दिए १ बर्षको सेवा सुबिधाको रकम



सल्यान,चैत-२५।सल्यान जिल्ला बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले आफुले गत १ बर्षमा सेवा सुबिधा बापत पाएको कोरोना कोषलाई दिएका छन् ।

बागचौर नगरपालिकाले कोरोना भाइरसको रोकथाम, अलपत्र परेका नगरबासीको उद्धार तथा विपन्न बर्गलाई राहत दिने उद्देश्यले स्थापना गरेको “कोरोना भाइरस रोकथाम, उद्धार तथा राहत कोष” मा नगर प्रमुख लोकमान बुढाथोकीले गत १ वर्षको सेवा सुविधाको रकम रु. ४ लाख ५० हजार जम्मा गरेका हुन् ।

नगर प्रमुख बुढाथोकीले यस अघि नै आफुले ५ बर्ष कार्यकालमा पाउने सेवा सुबिधाको रकम ब्यक्तिगत रुपमा नलिएर सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरिसकेका छन् ।

यसैगरी उपप्रमुखबाट पहिला सेवा सुविधाबाट पाएको १ महिनाको रकम रु. ३० हजार, वडा अध्यक्षहरूबाट सेवा सुविधाबाट पाएको १ महिनाको रकम रु. २० हजार, कार्यपालिका सदस्यहरूबाट सेवा सुविधाबाट पाएको १ महिनाको रकम रु. ११ हजार, वडा सदस्यहरूबाट सेवा सुविधाबाट पाएको १ महिनाको रकम रु. ६ हजार साथै स्वास्थ्य कर्मचारी र चालक बाहेक अन्य सम्पूर्ण शिक्षकहरु र कर्मचारीहरूबाट १ महिनाको तलब जम्मा गर्ने नगर कार्यपालिका कार्यालयको बैठकले निर्णय गरेको छ । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट गरेर १ करोड बढी रकम उठ्ने नगर प्रमुख बुढाथोकीले जानकारी दिएका छन् ।

यस्ता छन् बागचौर नगरपालिका नगर कार्यपालिका कार्यालयको बैठकले गरेका निर्णयहरू संक्षेपमा :

१. कोराना भाइरस ( कोभिड १९) संक्रमण रोकथामको लागि मिति २०७६ चैत २ गते गठन भएको नगर स्तरीय कोरोना रोकथाम समन्वय समितिको बैठकले समितिको र वडा स्तरमा गठन भएका समितिको समीक्षा गरेको छ । साथै, थप तथ्याङ्क सङ्कलन तथा अपडेट गर्नका लागि स्वयंसेवक प्रत्येक वडामा ३/३ जना राख्ने निर्णय गरिएको छ । स्वयंसेवक राख्ने अधिकार वडा अध्यक्षलाई प्रत्यायोजन गरिएको छ । र, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा कार्यालयको टिम, स्वयंसेवक साथै सम्बन्धित वडामा खटिएका संरक्षक र गणक सहितको तुरुन्तै बैठक बसी आवश्यक कार्य अगाडि बढाउने निर्णय गरिएको छ ।

२. कोरोना भाइरसको रोकथाम, अलपत्र परेका नगरबासीको उद्दार तथा बिपन्न बर्गलाई राहत दिने उद्देश्यले “कोरोना भाइरस रोकथाम, उद्दार तथा राहत कोष” खडा गर्ने निर्णय गरिएको छ । कोषको रकम ग्लोबल आइएमई बैंक लिमिटेडको खाता नम्बर ‘ P – ३०४०१००००००५’ राखिनेछ ।

३. कोरोना भाइरस रोकथाम, उद्दार तथा राहत कोषमा नगरपालिकाले २ करोड बजेट, नगर प्रमुखबाट गत १ वर्षको सेवा सुविधाको रकम रु. ४ लाख ५० हजार, उपप्रमुखबाट पहिला सेवा सुविधाबाट पाएको १ महिनाको रकम रु. ३० हजार, वडा अध्यक्षहरूबाट सेवा सुविधाबाट पाएको १ महिनाको रकम रु. २० हजार, कार्यपालिका सदस्यहरूबाट सेवा सुविधाबाट पाएको १ महिनाको रकम रु. ११ हजार, वडा सदस्यहरूबाट सेवा सुविधाबाट पाएको १ महिनाको रकम रु. ६ हजार साथै स्वास्थ्य कर्मचारी र चालक बाहेक अन्य सम्पूर्ण शिक्षकहरु र कर्मचारीहरूबाट १ महिनाको तलब जम्मा गर्ने निर्णय गरिएको छ ।
(नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट गरेर १ करोड बढी रकम उठ्नेछ ।)

३. असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असाहयहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड, २०७६ कार्यपालिका बैठकबाट पारित गरी कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।

४. प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा ५ बेडको आइसोलेसन निर्माण गर्ने, जनकल्याण क्याम्पसमा २५ बेडको क्वारेन्टाइन निर्माण गर्ने, साथै आवश्यकता अनुसार नगर भित्रका साबिकका गाविसहरू पिपलनेटा, कोटमौला, कोटबारा, बाफुखोला, शिवरथमा क्वारेन्टाइन बनाउँदै जाने निर्णय गरिएको छ ।

५. क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनको लागि थप स्वास्थ्यकर्मी आवश्यक पर्ने भएकोले नगरपालिकाले तुरुन्तै आवश्यक स्वास्थ्यकर्मीको सूचना निकाल्ने निर्णय गरिएको छ ।

साथै, नेपाल सरकार, प्रदेश सरकारले गरेको निर्णय अनुसार नगरपालिका भित्र हुने सम्पुर्ण राहत संकलन, सहयोग एकद्वार प्रणालीबाट गरिने नगरपालिकाले जानकारी दिएको छ ।र, कोरोना भाइरस रोकथाम, उद्दार तथा राहतको लागि ग्लोबल आइएमई बैंक लिमिटेडको खाता नम्बर ‘ P – ३०४०१००००००५’ मा सहयोग गरिदिन नगरपालिकाले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्