कोरोना रोकथामका लागि युद्धस्तरमा काम भैरहेको छ,थप चुनौतीका दिन आउनसक्छ:प्रधानमन्त्री



काठमाडौँ, चैत-२५:आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारका लागि युद्धस्तरमा काम भइरहेको बताएका छन् ।

प्रधानमन्त्री ओली सरकार, राजनीतिक दल र सबैको संयुक्त कमाण्डका रुपमा सङ्घीय सरकारले सञ्चालन गरेको कोरोना रोकथाम र नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले युद्धस्तर र समन्वयात्मकरुपमा काम गरिरहेको उल्लेख गरेका हुन्।

उनले चर्काे गर्मी होस या जस्तोसुकै मौसम होस त्यसको पर्वाह नगरी जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु निरन्तर खटिरहेकामा उच्च मुल्यांकन सहित प्रशंसा गर्नुभएको छ।साथै यसप्रकारको सबैको सचेततापूर्वक साथ र सहयोगको अपेक्षा व्यक्त गरे ।

संक्रमण नेपालमा फैलिन नदिन सरकारले उपयुक्त कदम स्वरुप लकडाउनको अवधि बढाइएको बताउदै प्रधानमन्त्री ओलीले यतिखेर क्वारेन्टाइनमा ९ हजार १ सय ६१ जना रहे पनि देशभरि ३० हजार ५ सय ६७ लाई राख्न सकिने क्षमता रहेको बताएका छन् ।कसैको एउटा लापरवाही सिङ्गो समुदायलाई महङ्गो पर्नसक्ने भन्दै उनले लकडाउन पालना गर्न समेत सबैमा आग्रह गरेका छन् ।

सीमामा रोकिएका नेपालीहरूबारे सरकारले उचित कदम चालेको भन्दै उचित समयमा पुनः जाँच गरेर नेपाल भित्र्याइने आफ्नो सम्बोधनको क्रममा प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

आगामी दुई साता अझै जोखिमपूर्ण रहेको बताउँदै ओलीले र्‍यापिड टेस्ट किटले परीक्षणको काम तीव्र गतिमा लैजाने सरकारको योजना सुनाए।

क्वारेन्टाइन अवधि पूरा गरेका व्यक्तिको समेत पुनः परीक्षण गरिने जनाउदै उनले यतिखेर जीवन कि वैयक्तिक स्वतन्त्रता भन्ने बहस गर्नु नै उपयुक्त नहुने भनाई राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्