भर्ना अभियान सुरु नगर्न शिक्षा मन्त्रालयको निर्देशन



काठमाडौ,बैशाख-२३ । लकडाउनको समयमा भर्ना अभियान सुरु नगर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  निर्देशन दिएको छ । मन्त्रालयले अनलाइन कक्षा वा कुनै पनि बहानामा शुल्क नउठान पनि विद्यालयहरुलाई निर्देशन दिएको हो।

एक सूचना प्रकाशित गर्दै सोमबार शिक्षा मन्त्रालयले  ‘सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयको कुनै पनि तहमा भर्ना नगर्नु, नगराउनु हुनका साथै भर्नाका नाममा कुनै पनि किसिमले शुल्क लिने, वा बैंक खातामा रकम जम्मा गर्न लगाउने जस्ता कार्यहरु नगर्नु, नगराउनुहुन’ सूचित गरिएको छ।

यस्तै, संस्थागत विद्यालयहरुले माध्यमिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवास शुल्क बाहेक अन्य सबै प्रकारको शुल्क छुट दिने भनि नेपाल सरकारले गरेको निर्णय कार्यान्वयन गरी अभिभावक तथा स्थानीय तहलाई जानकारी दिन’ पनि भनिएको छ।

शिक्षा मन्त्रालयले एसईई परीक्षा तथा कक्षा ११ र १२ को परीक्षा लिने सम्बन्धमा शुक्ष्म अध्ययन भइरहेको र हालसम्म कुनै निर्णय नभएको पनि स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्