सातै प्रदेशका शिक्षा मन्त्रीसँग शिक्षामन्त्री पोखरेलको छलफल
काठमाडौँ, भदौ २६ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातै प्रदेशका शिक्षा तथा सामाजिक विकासमन्त्रीसँग शिक्षा र खेलकुद क्षेत्रका विषयमा छलफल गर्नुभएको छ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बिहीबार भएको छलफलमा सङ्घ र प्रदेश सरकारबीच शिक्षा तथा खेलकुद क्षेत्रमा सहकार्य र समन्वय थप प्रभावकारी बनाउने विषयमा विचार–विमर्श भएको हो। बैठकमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमसम्बन्धी विधेयक, विपद्का समयमा सहकार्य तथा अन्तरसरकारी समन्वयलगायतका विषयमा छलफल भएको थियो।
छलफलका क्रममा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै सम्पन्न गर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमसम्बन्धी विधेयक आपसी छलफलबाट टुङ्ग्याउने तथा प्राविधिक शिक्षालाई थप विकेन्द्रीकृत र पहुँचयोग्य बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
मन्त्री पोखरेलले सङ्घीय सरकार प्रदेश सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको बताउँदै शिक्षा र खेलकुद क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यालय शिक्षा ऐन मन्त्रालयको प्राथमिकतामा रहेको उल्लेख गर्दै तीन तहका सरकारको अधिकार क्षेत्र स्पष्ट पार्दै छुटेका विषय समेटेर ऐनलाई थप समृद्ध बनाइने बताउनुभयो।
“विद्यालय शिक्षा ऐनलाई प्राथमिकतामा राखेका छौँ। पहिलाको विधेयकमा केही कुरा छुटेकाले अहिले देशभरका सबै सरोकारवालासँग छलफल गरी रायसुझावका आधारमा अगाडि बढाइएको छ। दीर्घकालीन रूपमा प्रभावकारी हुने गरी विषयवस्तु सम्बोधन गर्दा केही समय लागेको हो,” मन्त्री पोखरेलले भन्नुभयो।उहाँले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य, सभ्य र प्रभावकारी रूपमा सम्पन्न गर्न तीन तहका सरकारबीच बलियो समन्वय आवश्यक रहेको बताउनुभयो। सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको उहाँको भनाइ थियो।
कोशी प्रदेशकी सामाजिक विकासमन्त्री गीता तिम्सिनाले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो। मधेस प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्माले शिक्षा प्रभावकारी नभएसम्म देश समृद्ध हुन नसक्ने भन्दै शिक्षा र खेलकुद क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ, लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरे, सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सन्तोषकुमारी शर्मा (थापा) र कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले पनि शिक्षा तथा खेलकुद क्षेत्रमा सङ्घ र प्रदेश सरकारबीच सहकार्य र समन्वय थप प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो।
राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुङ्गानाले शिक्षा र खेलकुद क्षेत्रको विकासका लागि लगानी बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले विपद् व्यवस्थापनका लागि सङ्घदेखि प्रदेश र स्थानीय तहसम्म प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो।
शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले बाढी प्रभावित बालबालिकाको शिक्षा निरन्तरता तथा गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि तीन तहका सरकारबीच समन्वय बलियो बनाउनुपर्ने बताउनुभयो। नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना र गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मी पाण्डेले पनि बाढी प्रभावित क्षेत्रका बालबालिकाको शिक्षा निरन्तरताका लागि सरकारका तीनै तहबीच सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

