बाढीले विद्यालय बगाएपछि कोलोनीमा त्रिभुवन त्रिशूली माविको वैकल्पिक व्यवस्था
नुवाकोट,भदौ २५। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले ऐतिहासिक त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको भवनसहित सम्पूर्ण संरचना बगाएपछि विद्यालयको पठनपाठन सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरिएको छ।
विदुर नगरपालिका–१ त्रिशूली बजारमा रहेको विद्यालयको भवन र विद्यालयले प्रयोग गर्दै आएको जग्गा गत भदौ १० गतेको विनाशकारी बाढीले पूर्ण रूपमा नष्ट गरेपछि विदुर नगरपालिकाले करिब दुई किलोमिटर पश्चिमतर्फ विदुर नगरपालिका–९ कोलोनीमा रहेको सहरी विकास तथा भवन निर्माण कार्यालय र जिल्ला खेलकुद विकास समितिको खाली जग्गा तथा भवन प्रयोग गर्न अनुमति दिएको हो ।
साविक स्थानमा विद्यालय पुनः सञ्चालन गर्न सम्भव नरहेकाले विद्यार्थीको नियमित पठनपाठन सुचारु गर्न वैकल्पिक स्थान उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको निर्णयअनुसार कोलोनी बजारस्थित सहरी विकास तथा भवन निर्माण कार्यालयको जग्गा तथा भवन र जिल्ला खेलकुद विकास समिति नुवाकोटको जग्गा तथा भवन प्रयोग गरी अस्थायी सिकाइ केन्द्र तथा विद्यालय सञ्चालन गरिनेछ ।
विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले विद्यालयलाई पत्राचार गर्दै उक्त स्थान प्रयोग गरी अस्थायी रूपमा पठनपाठन सञ्चालन गर्न अनुमति दिइएको जानकारी गराएका छन् । विद्यालयले कक्षा १२ सम्म पठनपाठन सञ्चालन गर्दै आएको थियो ।
बाढीले विद्यालय भवन बगाउँदा विद्यालयका एक जना कार्यालय सहयोगी र खाना बनाउन कोठामा गएका एक जना शिक्षकसमेत बेपत्ता भएका छन् । ऐतिहासिक विद्यालय नै बाढीमा बगेपछि विद्यार्थीको पढाइ प्रभावित नहोस् भनेर नगरपालिकाले तत्काल वैकल्पिक स्थानको व्यवस्था गरेको हो ।

