कालिकाको शेरवासका चेपाङलाई पनि राहतमा नगरपालिकाले ठगेको खुलासा



चितवन ,जेठ-१ । चितवनको कालिका नगरपालिका वडा नं. ९ शेरवासका चेपाङलाई पनि कालिका नगरपालिकाले राहत दिँदा ठगेको पाइएको छ । सरकारले ५ जनासम्मको परिवारलाई १० किलो र सो भन्दा माथिको परिवारलाई २० किलो चामल र २ किलो नुन, २ किलो दाल लगायतका सामान दिने बताएको थियो । तर पनि कालिका नगरपालिकाबाट वितरण भएको राहत आफूले १० किलो मात्र पाएको स्थानीय रामचन्द्र चेपाङले कालिका दैनिकलाई बताए । “खै कति दियो थाहा भएन, १० किलो चामल, आधा पाकेट नुन र १ किलो दाल पाएको हुँ” रामचन्द्रले दुखेसो पोखे । कोरोना भाइरसको महामारी पछि लकडाउनको समयमा कोही जनप्रतिनिधिहरु पनि गाउँमा नआई पुगेको र सो राहत पनि आफ्नो ज्वाइँ पूर्ण बहादुर चेपाङले ल्याई दिएको रामचन्द्र चेपाङले बताए । राहत बाँडेको पनि थाहै पाइएन, उनले भने । ७ जनाको परिवार छौँ, आफ्नो खेतीले ३–४ महिनामात्र खान पुग्दछ, सधैँ हामी ज्याला मजदुरी गरेर खाने गर्दथ्यौँ, उनले भने ।

अहिले ज्याला मजदुरी पनि गर्ने ठाउँ छैन, उनले गुनासो पोखे । ज्वाई मार्फत् पाएको चामल त अस्ति नै सकिईसक्यो, कसरी परिवार पाल्ने हो ? उनले दुखेसो पोखे । कालिका वडा नं. ९ को शेरवासमा १८ घरधुरी रहेको र त्यहाँका सबै विपन्नलाई राहत वितरण गरिसकेको वडा अध्यक्ष हेम बहादुर क्षेत्रीले दावी गरे ।

राहत वितरणको सन्दर्भमा जानकारी लिन नगर प्रमुख खुमनारायण श्रेष्ठलाई पटक पटक टेलिफोन गर्दा उनको फोन उठेन । यस अगाडि पनि कालिका नगरपालिकाले वडा नं. १० र ११ को सिद्धि क्षेत्रका चेपाङ वस्तीमा पनि राहत वितरणमा ठगी गर्दै स्थानीयलाई सरकारले तोके भन्दा आधा मात्र राहत वितरण गरेको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्