चितवनकी कमला चेपाङको दुखेसो : परिवारकै पेटमा अन्न नपरेको २ महिना भयो



चितवन ,जेठ-१ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७”काफलडाँडाकी कमला चेपाङले १ नाङ्लो गिठ्ठा देखाउँदै भनिन्, परिवारकै पेटमा अन्न नपरेको २ महिना भयो । ७ जनाको परिवार रहेको कमलाका २ छोरीहरु घरभित्र बसी गिठ्ठा तास्दै थिए भने छेवैको अँगेनामा एउटा भाँडामा बिहानको खानाको लागि गिठ्ठा बसालिएको थियो । १ हलको बारी देखाउँदै कमलाले ३–४ महिना खाने मकै आउने र बाँकी श्रीमानले ज्याला मजदुरी गरेर परिवार पाल्ने गरेपनि कोरोना सङ्क्रमणले गर्दा काम गर्न जान नपाएको उनले बताइन् । गत फागुनसम्म अलि अलि मकै थियो र त्यसपछि खानेकुरा नभएर सधैँ गिठ्ठा खोजेर ल्याई खाने गरेका छौँ, उनले भनिन् ।

सो काफलडाँडा गाउँकी कमला चेपाङ जस्तै समस्यामा रहेका सुवास चेपाङ पनि छन् । उनको परिवारमा ८ जना सदस्य रहेका छन् । त्यस्तै गरी सोही गाउँका सन्त बहादुर चेपाङको पनि ७ जनाको परिवार छ भने मनरुपी घर्तीको ४ जनाको परिवार छ । यी सबैको घरमा कुनैपनि अन्न नभएको र सबैको घरमा गिठ्ठाहरु थुपारेर राखिएको थियो । बिहानै बेलुकै गिठ्ठा खान्छौ, के गर्नु ? खाने अन्न छैन, काम गर्न जाने ठाउँ छैन, सुवास चेपाङले दुखेसो पोखे । हालसम्म हामीले कही कतैबाट राहत पनि पाएका छैनौँ, उनीहरुले दुखेसो पोखे । सोही वडाको लाकुरे डाँडाकी दिलमाया घर्तीले पनि सरकारबाट पाउने राहत नपाएको र चर्चका पास्टर मार्फत् भने १५ किलो चामल पाएको बताइन् ।

इच्छाकामना गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष बम बहादुर मगरले आफ्नो वडामा टोल विकास संस्था मार्फत् सबैलाई राहत पठाइएको र यदि कोही कसैले नपाएको भए उनीहरु लाई राहत वितरण गरिने बताए । इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गिता गुरुङले गाउँपालिकाभित्र २ हजार ८ सय घरधुरीलाई वडा र टोल मार्फत् राहत वितरण गरिसकिएको र कोही कसैले नपाएको भए वडा मार्फत् गाउँपालिकाले सहयोग उपलब्ध गराउने बताइन।

प्रतिक्रिया दिनुहोस्