भिङ्ग्री – स्वर्गद्दारी जोडने सडक कालोपत्रे गरिंदै (तस्बिरहरु)



प्युठान,जेठ-६ । बन्दाबन्दिका समयमा पर्यटकिय महत्वको भिग्रीं स्वर्गद्धारी सडक कालोपत्रे गर्न थालिएको छ । स्वर्गद्धारी नगरपालिकाको केन्द्र भिङ्ग्री देखि पर्यटकीय तथा धार्मिकस्थल स्वर्गद्धारी सम्म जोड्ने १४ किलोमिटर सडकमा कालोपत्रेको काम सुरु भएको हो ।

सडक डिभिजन प्रमुख बिनोद प्रसाद सापकोटाले सरकारले लकडाउनको समयमा तोकेको शर्तलाई पालना गरेर काम अगाडि बढाइ रहेको बताउनुभयो । ‘अहिले लकडाउन भएपनी बिकास निर्माणका काम सन्चालन गर्न सरकारले परिपत्र गरे अनुसार कालोपत्रे गर्न थालेका हौ।,’ उहांले भन्नुभयो, ‘ कामदारहरूले सामाजिक दूरी कायम राख्दै काम गरिरहेका छन।’ ५ नंवर प्रदेश सरकारको २५ करोड ५० लाख रुपैया लागतमा सडक कालोपत्रे सुरु भएको हो ।यो सडकको ठेक्का वसिस इन्जिनियर्स एण्ड बुल्डर्स प्रा.लि लाजिमपाट ,काठमाडौले पाएको छ । आगामी असोज सम्ममा काम सम्पन्न गर्ने ठेक्का संझौता रहेको सडक डिभिजनले बताएको हो।

त्यस्तै,इन्जिनियर अरुण खत्रीले कुल १४ किलोमिटर सडकमध्ये अहिलेसम्म ३ किमि सिङ्गल पोर्ट सम्पन्न भइसकेको बताउनुभयो। उहाँका अनुसार अहिलेसम्म ७० प्रतिशत पुर्बाधारको काम सकिएको छ ।
कालोपत्रे सकिएपछि स्वर्गद्धारी आउजाउ गर्दा भक्तजनहरुले पहिला जस्तो सास्ती ब्यहोर्न नपर्ने र भिङ्ग्री बजार र स्वर्गद्धारीको दुरी समेत छोटिने स्थानियले बताए।

यो सडक कालोपत्रे नहुँदा वर्षायाममा हिलो र हिउँदमा धुलोले सताउने समस्या टर्ने उनिहरुको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस्