लकडाउनका बीच सय भन्दा बढीको सडक दुर्घटनामा मृत्यु



काठमाडौ,जेठ २७ । लकडाउनका बीच सय भन्दा बढीको सडक दुर्घटनामा मृत्यु भएको छ। कोरोना भाइरस  नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दी सुुरु भएको साढे दुुई महिनामा एक सय जनाभन्दा बढी सर्वसाधारणले दुर्घटनामा ज्यान गुमाएका हुन ।

सरकारले अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाए पनि राति तथा आफूसुुखी लुकिछिपी सवारी चलाउँदा यतिको दुर्घटना भएको सम्बद्ध अधिकारीहरूको भनाइ छ । चैत ११ गतेबाट सुरु भएको बन्दाबन्दीको ७५औँ दिनसम्ममा सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १ सय ३३ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार यो बीचमा मुलुकभर एक हजार १ सय ७१ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १ सय ८ जना पुरुष, १७ जना महिला र आठ जना बालबालिकाको मृत्यु भएको छ ।

त्यस्तै ३ सय २४ जना गम्भीर घाइते छन् । घाइतेमध्ये पुरुष २ सय ६५, महिला ४५ र १४ बालबालिका छन् । बन्दाबन्दीमा जोखिम मोलेर आफूखुसी सवारी सञ्चालन गर्दा दुर्घटना भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक निरज शाहीले बताए ।

बन्दाबन्दीको ७५ दिन अवधिमा यो सङ्ख्यामा सवारी दुर्घटना हुनु मानवीय क्षतिको दृष्टिकोणले अकल्पनीय भएको भनाइ सम्बद्ध अधिकारीको छ । कोभिड–१९ को महामारीभन्दा दुर्घटना महामारी नियन्त्रण नै नहुने चुनौतीपूर्ण समस्या भएको भनाइ प्रवक्ता शाहीको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्