रास्वपाको दोस्रो चरणको निर्वाचन : खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध हुने निश्चित



काठमाडौं, असार १२ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा खुला उपसभापतितर्फ डा. स्वर्णिम वाग्लेको मात्र उम्मेदवारी परेकाले उहाँ निर्विरोध हुने निश्चित भएको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार महिला उपसभापति पदका लागि सोविता गौतम र डा. तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि उक्त पदकी अर्की आकांक्षी समीक्षा बाँस्कोटाले आफ्नो उम्मेदवारी फिर्ता लिँदै सोविता गौतमलाई समर्थन गर्नुभएको छ।

खुला उपसभापतिबाहेक अन्य पदमा आवश्यकताभन्दा बढी उम्मेदवारी परेकाले सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास जारी रहेको र सहमति हुन नसके निर्वाचनमार्फत पदाधिकारी चयन गरिने रास्वपाले जनाएको छ।
पार्टीको विधानअनुसार पहिलो चरणमा निर्वाचित ९९ जना केन्द्रीय सदस्यले मात्र दोस्रो चरणको निर्वाचन प्रक्रियामा मतदान गर्न पाउने व्यवस्था छ।

पार्टी निर्वाचन आयोगका प्रमुख भुवन केसीले पदाधिकारी चयनका लागि सहमतिको प्रयास भइरहेको जानकारी प्राप्त भएको बताउँदै आयोगले भने आवश्यक सबै निर्वाचन तयारीलाई निरन्तरता दिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्