बट्टार हावाघर क्षेत्रमा हरियाली प्रवर्द्धन, सौन्दर्यकरणको काम सुरु



नुवाकोट, असार १२ — विदुर नगरपालिका–४ बट्टार हावाघरस्थित सडकको मध्यभागमा हरियाली प्रवर्द्धन तथा पर्यावरणमैत्री नगर निर्माण गर्ने उद्देश्यले सौन्दर्यकरणको काम सुरु गरिएको छ।

नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत करिब सात लाख रुपैयाँको लागतमा सञ्चालन भइरहेको योजनामा हावाघरको घण्टाघरदेखि क्रियापुत्री भवनसम्म करिब ३०० मिटर सडकको मध्यभागमा बगमबेली फूल र दुबो रोप्ने कार्य अघि बढाइएको हो।

सौन्दर्यकरणको कामको नगरप्रमुख राजन श्रेष्ठ र वडा नं. ४ का अध्यक्ष निलम बाबु ढुङ्गेलले संयुक्त रूपमा स्थलगत अवलोकन गर्दै कार्य प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक निर्देशन दिनुभएको छ।

नगरपालिकाले उक्त योजनामार्फत सडकको सौन्दर्य बढाउनुका साथै हरियाली विस्तार, वातावरण संरक्षण तथा नगरलाई थप आकर्षक र पर्यावरणमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्