डेङ्गीविरुद्ध सडकमा नुवाकोटको लिखुवासी : प्रभातफेरीमार्फत सचेतनाको सन्देश
नुवाकोट, असार १२ — वर्षायामसँगै डेङ्गी संक्रमणको जोखिम बढ्न थालेपछि नुवाकोटको लिखु गाउँपालिकाले समुदायलाई सचेत बनाउन प्रभातफेरी तथा सचेतना र्याली आयोजना गरेको छ।
बिहीबार र शुक्रबार दुई दिनसम्म सञ्चालन गरिएको अभियानले गाउँभरि डेङ्गी नियन्त्रणका लागि सामूहिक प्रयासको सन्देश दिएको हो ।
हिजो वडा नं. १ को ढिकुरे बजार र आज असार १२ गते वडा नं. ६ को छहरे बजारमा सम्पन्न कार्यक्रम गाउँपालिका अध्यक्ष धुर्ब श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको हो।
र्यालीमा जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, विद्यालयका शिक्षक–विद्यार्थी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले डेङ्गीबाट बच्न घर–आँगन र वरपर पानी जम्न नदिने, सरसफाइमा ध्यान दिने तथा लामखुट्टेको टोकाइबाट जोगिने उपायबारे स्थानीयलाई जानकारी गराएका थिए। बजार क्षेत्र परिक्रमा गर्दै जनचेतनामूलक सन्देश प्रवाह गरिएको र समुदायलाई डेङ्गी नियन्त्रणमा सक्रिय भूमिका खेल्न आग्रह गरिएको लिखु स्वास्थ्य शाखाका प्रमुख भिम रोक्काले बताउनुभयो।
गाउँपालिकाले यस्ता सचेतनामूलक कार्यक्रमले नागरिकमा स्वास्थ्यप्रति जिम्मेवारीबोध बढाउनुका साथै डेङ्गी संक्रमण रोकथाममा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। स्थानीयवासीले पनि यस्ता अभियान निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

