जिप दुर्घटनामा एकको मृत्यु, १७ जना घाइते



स्याङ्जा,असार १२ । स्याङ्जाको वालिङ नगरपालिका–७ स्थित लभ्लीडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार वालिङको मिर्दि–चापाकोट सडकखण्डमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बा.ए. ७९०५ नम्बरको जिप अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका वालिङ नगरपालिका–७ का २५ वर्षीय राजेन्द्र बिरकट्टाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिपमा सवार १८ जनामध्ये घाइते भएका अन्य १७ जनामध्ये १२ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ। पोखरा पठाइएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि जिप चालक वालिङ–७ निवासी २८ वर्षीय मीनबहादुर सारूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सामान्य घाइते भएका चालक सारूको पनि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्