लकडाउन खुकुलो भएसंगै काठमाडौ भित्रिनेको संख्या बढ्यो



काठमाडौ,असार २ । लकडाउन खुकुलो भएसंगै काठमाडौ भित्रिनेको संख्यामा समेत वृद्धि भएको छ। पछिल्लो समय सरकारले उपत्यकामा लकडाउन खुकुलो बनाउनुको साथै सवारीसाधनमा जोरबिजोर प्रणाली नियम लागु गरी दैनिक कामकाजमा सहजता अपनाए पनि त्यसको प्रभाव भने सीमा नाकामा देखिएको हो ।

उपत्यकामा पसल व्यवसायको बहाना बनाएर काठमाडौं छिर्नेहरूको संख्या बढ्दो छ । महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले उपत्यकामा लकडाउन खुकुलो गरेपछि नाकाहरूमा ओहोरदोहोर गर्नेको भीड बढेको बताए । उनका अनुसार बिनापास उपत्यका छिर्न खोज्ने एक सय १५ जनालाई सोमबार फिर्ता गरिएको छ ।

एक सय पाँचजना पास देखाई उपत्यकामा प्रवेश गरेका छन् । तर उपत्यकामा पसल सञ्चालन गरेको र थानकोटनजिकै बसेको भन्दै केहीले बहाना पनि बनाउने गरेका छन् । प्रहरीले बिनापास टाढाबाट आए पनि फर्काउने भएकाले पास जारी गरेर मात्रै उपत्यका प्रवेश गर्न सबैलाई आग्रह गरेको छ । ‘पास नलिईकन आउने सवारीसाधनलाई हामीले उपत्यका छिर्न दिएका छैनौं,’ उनले भने, ‘तर उपत्यकामा खुकुलो पारेसँगै त्यसकोे प्रत्यक्ष असर नाकामा परेको छ ।’

त्यस्तै भक्तपुर प्रवेश गर्ने साँगा नाकाबाट पनि उपत्यका प्रवेश गर्नेको संख्या बढेको छ। सोमबार मात्रै भक्तपुरको जगाती नाकाबाट तीन हजार बढी सवारीसाधन उपत्यका प्रवेश गरेको प्रहरी वृत्त जगातीले जनाएको छ । प्रहरीले सीमित व्यक्तिहरूलाई मात्रै उपत्यका प्रवेश गर्न दिइएको बताए पनि प्रत्यक्षदर्शीले निर्बाध तवरले मानिसहरू उपत्यका छिरेको बताउँछन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार उपत्यकाका विभिन्न नाकाबाट १२ हजारभन्दा बढी यात्रु प्रवेश गरेका छन् । प्रहरीले पास हेरेर मात्रै उपत्यका प्रवेश दिएको छ । तर भित्रिनेको संख्या धेरै रहेकाले प्रहरीलाई समेत दबाब परेको छ ।

लकडाउन सुरु भएको झन्डै तीन महिनापछि उपत्यकामा चहलपलह बढेको छ । अधिकांश सरकारी कार्यालय खुल्नेगरी सरकारले सरकारले सोमबारदेखि जोरबिजोर लागु गरी सवारीसाधन आवतजावतलाई अनुमति दिएको थियो ।

यसैबीच प्रहरीले जोरबिजोर पालना नगर्ने एक हजार नौ सय २३ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवनराम श्रेष्ठले जोरबिजोर नमान्ने केहीलाई कारबाही गरे पनि अन्य सवारीसाधन भने निर्बाध रूपमा सञ्चालन भएको जानकारी दिए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्