सुनसरी घटनापछि गृहको कडा कदम : प्रजिअसहित सुरक्षा प्रमुखहरू फेरबदल, छानबिन समिति गठन



काठमाडौँ, साउन ११ । सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूको व्यापक हेरफेर गरेको छ।

गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाएको छ भने उहाँको स्थानमा सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याललाई सरुवा गरेको छ।

त्यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौँ तानिएको छ। उहाँको स्थानमा प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी नायव महानिरीक्षक शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ। उहाँको स्थानमा विमानस्थलमा कार्यरत प्रहरी उपरीक्षक पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ।

यसैगरी, सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायव उपरीक्षक नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उहाँको ठाउँमा सशस्त्र प्रहरी प्रधान कार्यालय, काठमाडौँमा कार्यरत प्रहरी नायव उपरीक्षक मदन नाथलाई खटाइएको छ।

आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो। घटनामा नौ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र पाँच जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका छन्।

घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

घटनापछि थप तनाव फैलिन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्