डा. गोविन्द केसीसँग सहमति नजिक, मस्यौदा अनुमोदनका लागि तीन मन्त्रालयमा



काठमाडौँ, साउन ११ । डा. गोविन्द केसीका माग सम्बोधनका विषयमा सरकारी वार्ता टोली र डा. केसी पक्षबीच प्रारम्भिक सहमति जुटेको छ। वार्तापछि तयार गरिएको सहमतिको मस्यौदा अनुमोदनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा पठाइएको छ।

वार्ता टोलीका अनुसार सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएपछि आजै अन्तिम सहमति गर्ने प्रयास भइरहेको छ। डा. केसीले अघि सारेका पाँच बुँदे मागका विषयमा आइतबार र सोमबार भएको लामो छलफलपछि अधिकांश विषयमा सहमति जुटिसकेको जनाइएको छ।

आइतबार करिब ११ घण्टा चलेको वार्ता निष्कर्षमा पुग्न नसकेपछि सोमबार बिहान १० बजेदेखि पुनः वार्ता सुरु गरिएको थियो। शिक्षा मन्त्रालयको अगुवाइमा गठित सरकारी टोली र डा. केसी पक्षबीच केही विषयमा भने अन्तिम सहमति हुन अझै बाँकी रहेको बताइएको छ।

सरकारका तर्फबाट शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल, स्वास्थ्य सचिव डा. विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशचन्द्र अग्रवाल तथा प्रतिनिधिसभा सदस्य पुकार बम वार्तामा सहभागी हुनुहुन्छ। डा. केसीको तर्फबाट डा. अमृत जैसी र पवन थापा सहभागी हुनुहुन्छ।

वार्ताका क्रममा सरकारी टोलीले प्रारम्भिक छलफल डा. केसीका प्रतिनिधिसँग गरेको थियो। त्यसपछि टोली धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुगेर डा. केसीसँग प्रत्यक्ष संवादसमेत गरेको थियो।

डा. केसी गत बिहीबारदेखि धनगढीमा सत्याग्रहमा हुनुहुन्छ। स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि चिकित्सकको सल्लाहअनुसार शनिबारदेखि उहाँलाई सेती प्रादेशिक अस्पतालमा राखेर उपचार गरिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्