फ्रान्स–स्पेनमा भीषण डढेलो : तीन लाख २५ हजारभन्दा बढी विस्थापित, नयाँ उष्ण लहरले जोखिम अझ बढायो



एजेन्सी,साउन ११ । फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलो नियन्त्रणबाहिर जाँदा तीन लाख २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्। मौसमविद्ले नयाँ उष्ण लहर आउने चेतावनी दिएसँगै आगो अझ फैलिने जोखिम बढेको छ। दुवै देशले आगो नियन्त्रणका लागि ठूलो सङ्ख्यामा अग्निनियन्त्रक, सैनिक र सुरक्षाकर्मी परिचालन गरेका छन्।

दक्षिणपश्चिम फ्रान्सको गिरन्डे क्षेत्र र स्पेनको म्याड्रिड आसपासमा फैलिएको डढेलो दुवै देशको इतिहासकै सबैभन्दा विनाशकारीमध्ये एक बनेको अधिकारीहरूले बताएका छन्। फ्रान्समा डढेलोका कारण ‘पाइरोकुमुलोनिम्बस’ नामक विशाल आगोको बादल बनेको छ, जसले आफ्नै हावाको प्रणाली सिर्जना गरी चट्याङमार्फत नयाँ स्थानमा आगो फैलाउने जोखिम बढाएको फ्रान्सको राष्ट्रिय अग्निनियन्त्रक महासङ्घले जनाएको छ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आपत्कालीन अवस्थाबारे छलफल गर्न सोमबार सङ्कट व्यवस्थापन बैठक बोलाउनुभएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगो प्रभावित भ्यालेन्सिया क्षेत्रको स्थलगत निरीक्षण गर्ने कार्यक्रम तय गर्नुभएको छ। उहाँले अवस्था अझै चुनौतीपूर्ण रहेको चेतावनी दिनुभएको छ।

स्पेनको अविला क्षेत्रमा मात्रै करिब ७७ हजार हेक्टर क्षेत्रफलमा फैलिएको आगो नियन्त्रणका लागि २८० किलोमिटर परिधिमा अभियान सञ्चालन भइरहेको छ। भ्यालेन्सिया क्षेत्रमा थप डढेलो फैलिँदा १५ हजारभन्दा बढी स्थानीय विस्थापित भएका छन्। म्याड्रिड, अविला, टोलेडो र कास्टेलन क्षेत्रबाट करिब ७५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

फ्रान्सको गिरन्डे क्षेत्रमा मात्रै करिब दुई लाख २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। ४५ वटा शिविर बन्द गरिएका छन् भने करिब ४० हजार पर्यटकको बिदा प्रभावित भएको छ। स्काउट शिविर तथा अपाङ्गता भएका व्यक्तिका लागि सञ्चालन गरिएका बिदा शिविरसमेत बन्द गर्न स्थानीय प्रशासनले आदेश दिएको छ।

बुधबारयता गिरन्डे क्षेत्रमा ४२ हजार हेक्टर वन क्षेत्र जलेको छ भने कम्तीमा २४० घर ध्वस्त भएका छन्। बोर्डेक्सको दक्षिणतर्फको मुख्य राजमार्ग र रेल सेवा अवरुद्ध भएका छन्। रक्षा मन्त्रालयले बोर्डेक्स आसपासका एयरोस्पेस उद्योगको सुरक्षाका लागि विशेष व्यवस्था मिलाइएको जनाएको छ।

आगो नियन्त्रणका क्रममा गिरन्डे क्षेत्रमा ८४ जना अग्निनियन्त्रक घाइते भएका छन्। तीमध्ये १० जनालाई थप उपचारका लागि अन्यत्र सारिएको छ। अग्निनियन्त्रकहरूले विषाक्त धुवाँबाट जोगिने पर्याप्त सुरक्षात्मक सामग्रीको अभाव रहेको गुनासो गरेका छन। हाल गिरन्डे क्षेत्रमा दुई हजार ५०० अग्निनियन्त्रक, एक हजार ५०० सैनिक र एक हजार २०० प्रहरी परिचालन गरिएको छ। बोर्डेक्सका मेयर थोमस क्याजेनाभले सहर खाली गर्ने कुनै योजना नरहेको तर अवस्थामाथि निरन्तर निगरानी भइरहेको बताउनुभएको छ।

वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण यस्ता चरम डढेलोका घटना झन् तीव्र र बारम्बार हुन थालेको बताएका छन्। मौसमविद्का अनुसार फ्रान्सका केही क्षेत्रमा आगामी दिनमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ।स्पेनका राजा फेलिप छैटौँले डढेलोले देशको प्राकृतिक सम्पदामा अकल्पनीय क्षति पुगेको बताउँदै प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउनुभएको छ। पोप लियो चतुर्थले पनि फ्रान्स र स्पेनका प्रभावित समुदाय तथा उद्धारकर्मीका लागि प्रार्थना गर्न विश्व समुदायलाई आह्वान गर्नुभएको छ।

यसैबीच, इटालीको दक्षिणी पुग्लिया क्षेत्रमा पनि डढेलो फैलिँदा पेसचिची आसपासबाट चार सयभन्दा बढी पर्यटक र समुद्र किनारामा रहेका सर्वसाधारणलाई समुद्री मार्गबाट सुरक्षित स्थानमा सारिएको छ। त्यहाँ पनि उद्धार तथा आगो नियन्त्रणको कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्