अन्तिम ओभरमा चुक्दा नेपाललाई ३ रनको पीडादायी हार, नामिबिया पाँचौं स्थानमा उक्लियो
काठमाडौं,साउन १२ — आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको रोमाञ्चक खेलमा नेपाल अन्तिम क्षणमा चुक्दा नामिबियासँग ३ रनको झिनो अन्तरले पराजित भएको छ। लगातार तेस्रो हारसँगै नेपाल अंक तालिकाको छैटौं स्थानमा झरेको छ भने नामिबियाले नेपाललाई उछिन्दै पाँचौं स्थान कब्जा गरेको छ।
२ सय १२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८ रन मात्र बनाउन सक्यो। अन्तिम ६ बलमा १७ रन आवश्यक रहेको अवस्थामा नेपालले १३ रन मात्रै जोड्न सक्यो। अन्तिम बलमा चौका प्रहार गरेको भए खेल बराबरी हुने र छक्का लागेको भए नेपाल विजयी हुने अवस्था थियो। तर गुल्सन झाले एक रन मात्र जोड्न सकेपछि नेपाल ३ रनले पराजित भयो।
नेपालका लागि कुशल भुर्तेलले ३४ रन बनाएर राम्रो सुरुआत दिलाएका थिए। त्यसपछि इशान पाण्डे १४, भीम सार्की १ र दीपेन्द्र सिंह ऐरी ३ रनमा आउट हुँदा नेपाल दबाबमा परेको थियो। कप्तान रोहित पौडेलले ४१ तथा आरिफ शेखले अविजित ३८ रनको योगदान दिए। गुल्सन झा १९ रनमा अविजित रहे। नामिबियाका ज्याक ब्रासेलले ३ तथा रुबेन ट्रम्पलम्यानले २ विकेट लिए।
यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले नामिबियालाई ५० ओभरमा ७ विकेटमा २ सय ११ रनमा सीमित गरेको थियो। सुरुआती दुई विकेट सस्तैमा गुमाएको नामिबियाका लागि जान फ्राइलिन्कले उत्कृष्ट शतकीय इनिङ्स खेले। उनले १ सय ४९ बलमा ३ चौकासहित १ सय रन बनाए। लउरेन स्टीनकाम्पले ५९ रन जोड्दै तेस्रो विकेटका लागि फ्राइलिन्कसँग १ सय ३१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।
नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर ५ विकेट लिए। यही खेलमा उनले एक सय ओडिआई विकेट पूरा गर्ने उपलब्धिसमेत हासिल गरे। ७२ खेलमा उक्त सफलता हासिल गर्ने करण नेपालका लागि ओडिआईमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने। यसअघि सन्दीप लामिछानेले यो कीर्तिमान बनाएका थिए।
लगातार तेस्रो हारपछि नेपाल २४ अंकसहित छैटौं स्थानमा झरेको छ भने २६ अंक पुगेको नामिबियाले पाँचौं स्थानमा उक्लिँदै लिग–२ को प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

