नेकपा विवाद : प्रधानमन्त्री ओलीले दुबै पद नछाड्ने



काठमाडौं,असार २० । पछिल्लो समयमा नेकपाका शीर्ष नेताहरू बीच कटुता बढेसँगै नेकपाका कार्यकर्तामाझ एक प्रकारको चिन्ता बढेको छ । कतै एकता भत्किने त होइन ? नेकपा फेरि फुट्ने त होइन ? भनेर ।

मेलमिलापको अपेक्षासहित दुई अध्यक्ष एक–एक विश्वासपात्रसहित शुक्रबार तीन घण्टा बसे । जति बसाइ लम्बिँदै गयो, शुभेच्छुकको आशा बढ्दै गयो । तर, छुटुन्जेलमा मन त माझियो । कुरा बाझिएरै रह्यो । ‘दुई अध्यक्षबीच खुलेरै कुराकानी भएको छ’, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा सँगै रहेका स्थायी समिति सदस्य जनार्दन शर्माले भने, ‘तर, विषयवस्तुमा ठोस सहमति भएको छैन । अर्को राउन्ड फेरि छलफल हुने भएको छ ।’

छलफलमा महासचिव विष्णु पौडेल पनि थिए । उनले पनि सञ्चारमाध्यमलाई ओली र दाहालबीच खुलस्त कुराकानी भएको र आफूलाई लागेका कुराहरू दुवै अध्यक्षले राखेको जानकारी गराएका थिए । ‘सम्बन्ध नट गुड, नट ब्याड (न राम्रो, न खराब) भयो’, बैठकको उपलब्धिबारे बालुवाटार स्रोतले भन्यो ।

ओलीसँगको बालुवाटार छलफलबारे दाहालले आफ्नो निवासमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई बोलाएर शुक्रबार साँझ जानकारी गराएका छन् । त्यहाँ सहभागी एक सचिवालय सदस्यका अनुसार, ओली शुक्रबारको छलफलमा पनि आफ्नो अडानमा यथावत् छन् । वरिष्ठ नेता खनालले अन्नपूर्णसँग भने, ‘दुई अध्यक्षबीच बालुवाटारमा भएको छलफल हामीलाई प्रचण्ड कमरेडले बिफ्रिड गर्नुभयो । कुरा मिलेनछ । अडानमै उहाँ (प्रधानमन्त्री) देखिनु भएको छ । अब स्थायी समितिबाटै कोर्स अगाडि बढ्छ ।’

अर्का एक सचिवालय सदस्यका अनुसार, दाहाल बालुवाटार पुगेपछि भएको छलफलको प्रारम्भमै ओलीले आफ्नो पुरानै अडान दोहोर्‍याउँदै भनेका थिए, ‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विषयमा कुरा गर्न आउनु भएको भए त्यो कुरै नगरौं, त्यो च्याप्टर क्लोज भयो । त्यो कुनै सम्भावनै छैन, अरू केही कुरा छन् भने गरौं ।’

दाहालले पार्टीभित्र उठेका विषयमा छलफल नगर्ने भन्न नसुहाउने भन्दै एकता जोगाई राख्नुपर्ने र पार्टीको निर्णयलाई सबैले मानेर जाने गरी अगाडि बढ्नुपर्ने आग्रह गरेका थिए । त्यसपछि ओलीले दाहालसँग भने, ‘पार्टी एकता सकेसम्म गर्ने हो । तर पार्टी अहिले फुटे बराबर छ । तपाईंले भोलि कारबाही गर्नुस्, त्यसपछि म अर्को पार्टी बनाउँछु ।’

त्यति मात्र होइन, दाहाललाई ओलीले शुक्रबारको छलफलमा वरिष्ठ नेता माधव नेपाल वा आफ्नो टिममध्ये कुनमा बस्ने रोज्नसमेत आग्रह गरेका थिए । ‘उहाँ (प्रधानमन्त्री) ले पार्टी एकता कायम गर्ने हो भने अध्यक्ष र प्रधानमन्त्रीको कुरा भएन, अर्को एउटा पनि निर्णय गर्नुहोस् तपाईंले मेरो टिममा बस्ने हो कि माधव नेपालको टिममा बस्ने हो ? फैसला गर्नुहोस्सम्म मलाई भन्नुभयो’, ओलीले आफूलाई राखेको प्रस्ताव सुनाउँदै दाहालले ब्रिफिङमा भने ।

दाहालले भने पार्टीको निर्णयलाई मानेर जानुपर्नेमै ओलीलाई जोडबल गरेका थिए । ‘एकीकृत पार्टी भइसकेपछि कहाँ त्यस्तो हुन्छ ? तपाईं ( प्रधानमन्त्री) ले त्यागको कुनै भावना नै देखाउनु भएन, यस्तो पनि हुन्छ ?’ दाहालको यस्तो प्रश्नपछि ओलीले भने, ‘मैले गल्ती गर्दिनँ ।’

दुई अध्यक्षबीचको छलफलमा कुरा नमिलेपछि महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्माले फेरि पनि छलफल गर्ने र अविश्वास हटाउने विषयमा जानुपर्ने मत राखेका थिए । त्यसपछि भने ओलीले शनिबारको पार्टी स्थायी समिति बैठक अगाडि पुनः एकपटक बस्ने र छलफल गरेर हेरौं भन्दै दाहाललाई बिदाइ गरेका थिए ।

दाहाल–नेपाल पक्षले शनिबार ओलीसँग दाहालले गर्ने छलफल पनि सकारात्मक नदेखिए पुनः सचिवालयका नेताहरूको बैठक बसेर कसरी जाने भन्ने प्रक्रिया टुंगो लगाउने भएका छन् । ‘अब उहाँहरूबीचको शनिबार हुने छलफल हेरौं । त्यहाँ पनि प्रधानमन्त्री टसमस नभई आउनुभयो भने हामी स्थायी समिति बैठक अगाडि सचिवालयका साथीहरू बस्छौं । त्यसपछि स्थायी समिति बैठकमा केन्द्रीय समिति बैठक बोलाउने गरी निर्णय गरेर जान्छौं, त्यही दिशामा हाम्रो छलफल छ,’ ती सचिवालय सदस्यले अन्नपूर्णसँग भने।

यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्