ज्ञान र चेतनाको स्रोत गुरु : रमेशकुमार महत



गुरू ब्रह्मा गुरू विष्णु,गुरु देवो महेश्वर !
गुरु साक्षात परब्रह्म,तस्मै श्री गरुवे नम:!!”
अर्थात: गुरुनै ब्रम्हा हुन्,गुरुनै बिष्णु हुन् अनि गुरु भनेकै भगवान शंकर हुन् ! गुरुनै साक्षात परब्रम्ह हुन् ! यसर्थ गुरुलाई नमस्कार गर्दछु ।

आज आषाढ शुक्ल पूर्णिमा, गुरु पुर्णिमाको दिन, गुरु व्यासको जन्म भएको दिन । आज श्रद्देय गरुहरुको सम्झना गरि पुजा गर्ने दिन । अज्ञानता र दुविधा हटाऊने कर्ताको रुपमा गुरुलाई पुजिन्छ । ‘गु’को अर्थ हो-अन्धकार एवं ‘रु’ को अर्थ हो- प्रकाश । ‘गिरति अज्ञानं इति गुरूः’ अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो।

गुरूपूर्णिमा सनातन धर्मावलम्बी र बुद्ध धर्मावलम्बीहरुको एक महत्वपुर्ण पर्व हो । यसैगरि महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरूषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई गुरूपूर्णिमाका रूपमा मनाउँने गरिन्छ ।

वेद व्यासले वेद-वेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका हुन्। यी हिन्दू ग्रन्थ नै हाम्रा मार्गदर्शक हुन्। सर्वाङ्गीण विकासमा सिर्जनात्मक शक्तिको विकास गर्नु तथा विष्णुजस्तै हेरचाह, रेखदेख, पालनपोषण गर्नु तथा महेश्वरजस्तै अज्ञान, कुमार्ग, कुविचारको नाश गर्न ज्ञानको जरुरत हुन्छ ।
ॐ असतो मा सद्गमय।
तमसो मा ज्योतिर्गमय।
मृत्योर्मामृतं गमय ॥
ॐ शान्ति शान्ति शान्तिः ॥
हे भगवान मलाई असत्यबाट सत्य तर्फ लैजाऊ,
अध्यारोबाट चेतनाको ऊज्यालो तर्फ लैजाऊ
मलाई मृत्युबाट अमरता तर्फ लैजाऊ ।।
यो संसारमा शान्ति होस्,आदिदैविक शान्ति होस्, आदिभौतिक शान्ति होस्,आध्यात्मिक शान्ति होस्!

एउटा अशल र योग्य गुरुले लाखौ सुयोग्य नागरिक तयार गर्न सक्दछन्, तसर्थ गुरुको महिमा जति गरेपनि कमै हुन्छ । असल, योग्य शिक्षकको अभावमा असल शिक्षा सम्भव छैन । गुरुकुलबाट शुरु भएको हाम्रो शिक्षा प्रणाली आज आधुनिक शिक्षा र सुचना प्रबिधिको युगमा प्रवेश भईसकेको छ ।

ज्ञान प्राप्तिको क्षेत्रमा अर्थात गुरुहरु प्रति विगतका समयमा जुन मर्यादा थियो त्यो संस्कार, अनुसाशन र मर्यादा आज कम हुदै गएको देखिन्छ । यस तर्फ समाजलाई मर्यादाको मार्ग तर्फ डोर्याऊन आवस्यक देखिन्छ ।गुरु पुर्णिमाको पावन अवसरमा ज्ञानको ज्योति छर्ने सम्पुर्ण गुरु वर्गमा हार्दिक नमन ।

प्रतिक्रिया दिनुहोस्