प्युठानमा सलहले ४३१ हेक्टर कृषि बालीमा क्षति



रामबहादुर बिश्वकर्मा, प्यूठान। प्यूठानमा सलह किराले ठूलो क्षति पुर्‍याएको छ । जिल्लाका विभिन्न स्थानमा किसानहरुले लगाएको मकैबाली, तरकारी र धानबालीमा सलहले क्षती पुर्‍याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जानकारी दिएको छ ।

जिल्लाका नौ स्थानीय तहमा सलहले ४३१.५ हेक्टर क्षेत्रफलमा लगाएको मकै, तरकारी, र धानबालीमा क्षती पुर्‍याएको परियोजनाका निमित्त प्रमुख सुमन खनालले जानकारी दिए । ‘जिल्लामा सबै भन्दा बढि सलहले मकै बालीमा नोक्सानी पुर्‍याएको छ,’ खनालले भने ‘मकै पछि धान बालीमा क्षेती पुर्‍याएको छ।’ उनका अनुसार सलहले सवैभन्दा बढी नौबहिनिमा ११० हेक्टर र सरुमारानी गाउँपालिकामा सबैभन्दा कम ३८.५ हेक्टर क्षेत्रफल जमिनमा लगाईएको अन्नवालीमा नोक्सानी पुर्याएको छ। त्यस्तै, झिमरुकमा ८० हेक्टर, ऐरावतीमा ७०, मल्लरानीमा ६३ हेक्टर, स्वर्गद्धारी नगरपालिकामा ५५ हेक्टर र प्यूठान नगरपालिकामा १५ हेक्टर क्षेत्रफलमा क्षति पुर्याएको छ ।

गौमुखी र माण्डवी गाउँपालिकामा सलह देखिएता पनि कुनै क्षती नपुर्याएको खनालले जानकारी दिए । जिल्लाका सवै ६४ वडामा सलह देखिएको थियो । सलह कीराले खेतीबाली नोक्सानी गरेको भन्दै किसानहरुले क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस्