लकडाउनको बेला ट्याक्सी चलाउने व्यवस्था मिलाउन सरकारलाई संसदीय समितिको निर्देशन



काठमाडौं, असार २४ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ट्याक्सी सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरेको छ ।

समितिको बुधबार सार्वजनिक यातायातसम्बन्धी मजदुर सङ्गठन र व्यवसायी महासङ्घका पदाधिकारीसँग कोभिड–१९ का अवस्थामा यातायात सञ्चालन गर्ने विषयमा छलफल बैठक बसेको थियो । बैठकले विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कोभिड–१९ क्राइसिस मेनेजमेन्ट कमिटी (सीएमसी) ले तयार पारेको मापदण्ड पूरा गरी सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको हो । बन्दाबन्दीकै समयमा स्वास्थ्य मापदण्ड पूरा गरी केही पेशा व्यवसाय सञ्चालन भइरहेकाले सोही व्यवस्थाका आधारमा अर्थतन्त्रलाई चलायमान गर्न र सर्वसाधरणलाई आवतजावत सहज गर्न निर्देश गरेको हो ।

समितिले आगामी बैठकमा सार्वजनिक यातायात सञ्चालनका विषयमा सीएसी र भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल गर्ने पनि निर्णय गरेको छ । बैठकमा मजदुर सङ्गठन र व्यवसायी सङ्गठनका प्रतिनिधिले बन्दाबन्दीका कारण मजदुरहरुको जनजीवन कष्टकर बनेको, आर्थिक सङ्कट बढेको र गुजारा चलाउन नसकेपछि आत्महत्यासम्मको अवस्था सिर्जना भएको बताएका थिए ।

गाडी नचल्दा यातायातका मजदुर आर्थिक रुपमा गाह्रो भए पनि अहिले १०७ दिन भएकाले मजदुरलाई धेरै गाह्रो भएको नेपाल यातायात स्वतन्त्र मजदुर सङ्घका अध्यक्ष भीमज्वाला राईले बताए ।

नेपाल ट्रक व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्रविक्रम बानियाँले बैंकले तीन महिनालाई शून्य समय मानेर ब्याज मिनाहा गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्