भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति



काठमाडौं,कात्तिक १०। भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसाय तथा प्रतिष्ठानतर्फ गरी ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा प्रतिष्ठानसम्बन्धी सर्वेक्षणको प्रारम्भिक विवरणअनुसार घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय तथा प्रतिष्ठानतर्फ नौ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति भएको हो।

सर्वेक्षणअनुसार बाढीले घर भएको आफ्नै स्वामित्वको ५४ दशमलव ६५ हेक्टर जग्गामा क्षति पुर्‍याएको छ। घडेरीमा १३ अर्ब २६ करोड र घर निर्माण लागततर्फ ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

बाढीका कारण तीन हजार ६१० परिवारको स्वामित्वमा रहेको ५०७ दशमलव ९७ हेक्टर जग्गामा क्षति पुगेको छ। उक्त जग्गाको क्षति ३५ अर्ब ४४ करोड रुपैयाँ बराबर रहेको आयोगले जनाएको छ।

त्यस्तै, दुई हजार ९५१ परिवारको खेतबारीमा लगाइएको बालीमा २३ करोड २१ लाख रुपैयाँ बराबरको क्षति भएको छ। एक हजार ८७६ परिवारले भण्डारण गरेको खाद्यान्नमा १० करोड ४१ लाख र एक हजार ११ परिवारले पालेका पशुपन्छी तथा माछामा २१ करोड ४२ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।

सवारीसाधनतर्फ एक हजार ११५ परिवारको एक अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति भएको छ। बहुमूल्य, सांस्कृतिक तथा पुरातात्त्विक वस्तुतर्फ दुई हजार ३३० परिवारले पाँच अर्ब दुई लाख रुपैयाँ बराबरको क्षति बेहोरेका छन्।

त्यसैगरी, तीन हजार १८७ परिवारका टिकाउ प्रकृतिका घरायसी वस्तुमा एक अर्ब ४५ करोड रुपैयाँ बराबरको क्षति भएको छ। दुई हजार ७६९ परिवारका टिकाउ नहुने घरायसी वस्तुमा ६६ करोड ३५ लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ।

आयोगका अनुसार बाढीबाट कुल छ हजार ८१७ परिवारका ३२ हजार ८७२ जना प्रभावित भएका छन्। बाढीले ४९९ व्यवसाय तथा प्रतिष्ठानमा क्षति पुर्‍याएको छ भने दुई हजार ९८९ आवासीय संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

प्रभावित घरपरिवारमध्ये नुवाकोटमा तीन हजार ८४१, रसुवामा एक हजार ९२०, धादिङमा ९४८ र गोरखामा १०८ परिवार छन्। व्यवसाय तथा प्रतिष्ठानतर्फ नुवाकोटमा ३२३, धादिङमा १०४, रसुवामा ५७ र गोरखामा १५ वटा प्रभावित भएका छन्।

सर्वेक्षणका लागि चार जिल्लाका १५ स्थानीय तहमा ५८ टोली र १५६ जना जनशक्ति परिचालन गरिएको थियो। अनलाइन एप र ट्याब्लेटको प्रयोग गरी गरिएको सर्वेक्षणको विवरण प्रारम्भिक रहेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्