भारी हिमपात र हिमपहिरोको जोखिम, तीन दिन पदयात्रा रोक्न आग्रह



काठमाडौँ,कात्तिक १० । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढेपछि अध्यागमन विभागले तीन दिन पदयात्रा गतिविधि रोक्न आग्रह गरेको छ।

विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले आज सूचना जारी गर्दै कात्तिक १२, १३ र १४ गते उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेका हुन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उक्त अवधिमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको चेतावनी दिएपछि विभागले यस्तो सतर्कता अपनाएको जनाएको छ।

विभागका अनुसार उक्त तीन दिन उच्च पहाडी तथा हिमाली क्षेत्रका निषेधित स्थानमा पदयात्राका लागि अनुमतिपत्र जारी गरिने छैन। पदयात्राका क्रममा तोकिएका क्षेत्रमा पुगिसकेका पर्यटकलाई जथाभावी नहिँड्न र सुरक्षित स्थान वा आश्रयस्थलमा मात्र बस्न आग्रह गरिएको छ।

सम्भावित मानवीय दुर्घटना रोक्न विभागले ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक तथा सम्बन्धित सबै सरोकारवालालाई सूचनाको पूर्ण पालना गर्न र गराउन निर्देशन दिएको छ।

विपद्को जोखिम टरेको आधिकारिक सूचना जारी नभएसम्म हिमाली तथा उच्च पहाडी क्षेत्रमा यात्रा पूर्ण रूपमा स्थगित गर्न विभागले सबैलाई सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्