कर्णाली याक्सको विजयी सुरुआत, जनकपुर १९ रनले पराजित



काठमाडौं,कात्तिक १० । युनिस ठकुरी र हुसैन तलातको उत्कृष्ट बलिङमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुआत गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको हो।

कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमा अलआउट भयो। जनकपुरलाई कम स्कोरमा रोक्ने क्रममा युनिस ठकुरी र हुसैन तलातले समान तीन विकेट लिए। युनिसले एक मेडनसहित २२ रन खर्चिए भने तलातले २६ रन दिए। नन्दन यादवले दुई तथा सोमपाल कामीले एक विकेट लिए।

जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक १९ रन बनाए। मोइन अलीले पनि १९ रन जोडे। अभिषेक तिवारीले २०, जेम्स निसमले १५ र अनिल साहले ११ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।

त्यसअघि टस जितेर फिल्डिङ रोजेको जनकपुरविरुद्ध ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३२ रन बनाएको थियो। कर्णालीका अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलमा चार चौका प्रहार गरे। पवन सर्राफले ३७ बलमा तीन छक्कासहित ३७ रन जोडे।

दीपक डुम्रेले १३ र गुल्सन झाले १२ रन बनाए। जनकपुरका कप्तान हरमित सिंहले तीन विकेट लिए भने मोइन अली र राहुल यादवले समान दुई विकेट हात पारे। ललित राजवंशीले एक विकेट लिए।

मंगलबारकै पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो।

चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो। विराटनगरका इमरान शेखले ३९, आन्द्रे रसेलले ३३ र लोकेश बमले २६ रन बनाए। एन्जेलो म्याथ्युजले १४ र बसिर अहमदले १३ रन जोडे।

चितवनका कमल ऐरीले चार विकेट लिए। रिजन ढकालले दुई तथा रञ्जित कुमार, टम टेलर, डान मुस्ले र मौसम ढकालले समान एक विकेट लिए।

त्यसअघि विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो।

एनपीएलअन्तर्गत बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। पोखराले प्रतियोगितामा पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिम दोस्रो खेलमा मैदान उत्रनेछ। पहिलो खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्