एनपीएल हेर्न कीर्तिपुर पुगे विश्वप्रसिद्ध बलर शोएब अख्तर



काठमाडौं,कात्तिक १० । पाकिस्तानका पूर्व तीव्र गतिका बलर शोएब अख्तर नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेल हेर्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेका छन्।

प्रतियोगिताको आधिकारिक प्रसारक हिमालय स्पोर्ट्सको विशेष निमन्त्रणामा क्रिकेट विशेषज्ञ तथा विश्लेषकका रूपमा सहभागी हुन अख्तर काठमाडौं आएका हुन्। उनको उपस्थितिले मैदानमा रहेका नेपाली समर्थक र खेलाडीमाझ उत्साह थपेको छ।

विश्व क्रिकेटमा ‘रावलपिन्डी एक्सप्रेस’ उपनामले परिचित अख्तर अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा तीव्र गतिमा बल फाल्ने कीर्तिमानी बलर हुन्। उनले सन् २००३ को एकदिवसीय विश्वकपमा इंग्ल्यान्डविरुद्ध प्रतिघण्टा १६१.३ किलोमिटरको गतिमा बल फाल्दै विश्व कीर्तिमान बनाएका थिए। उनी क्रिकेट इतिहासमा प्रतिघण्टा १०० माइलभन्दा बढी गतिमा बल फाल्ने पहिलो बलरसमेत हुन्।

सन् १९९७ देखि २०११ सम्म पाकिस्तानको राष्ट्रिय टोलीबाट खेलेका अख्तरले ४६ टेस्टमा १७८, १६३ एकदिवसीय खेलमा २४७ र १५ टी–२० अन्तर्राष्ट्रिय खेलमा १९ विकेट लिएका छन्। उनले आफ्नो अन्तर्राष्ट्रिय खेलजीवनमा कुल ४४४ विकेट हात पारेका थिए।

आक्रामक बलिङ र तीव्र गतिका कारण विश्वभरका ब्याट्सम्यानमाझ चर्चित बनेका अख्तर सन्न्यासपछि विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट टिप्पणीकार तथा विश्लेषकका रूपमा सक्रिय रहँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्