बिहीबारदेखि ४ दिन यो वर्षकै बढी पानी पर्ने मौसम विभागको अनुमान, सतर्कता अपनाउन आग्रह



काठमाडौं,असार २४ । मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने अनुमानका साथ आवश्यक पूर्वतयारी थालिएको छ । असार २५ देखि २८ सम्म प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन शुरु भएपछिको अहिलेसम्म कै बढी वर्षा हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार अहिलेसम्म औसतभन्दा धेरै पानी परिसकेको छ ।

त्यसैले सम्भावित पानी पर्ने प्रदेशको तराई तथा चुरे क्षेत्रबाट बग्ने नदी, खोला तथा खहरेमा बाढी बढ्ने र समतल भूभागमा डुबानको सम्भावना हुने भएकाले विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।

सरकारले यसवर्ष असारमा आधारित विपद्को सूचना प्राणाली व्यवस्थापन गरिएको छ । त्यसैले पानीपर्ने सम्भावना छ मात्रै नभनी कुनकुन क्षेत्रमा पानी पर्नेछ, कस्तो असर गर्न सक्छ, त्यसबाट कसरी सावधानी अपनाउने भनेर सार्वजनिक सूचना दिन थालिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

मुलुकमा गएको वैशाखदेखि अहिलेसम्म पर्याप्त पानी परिसकेको छ । प्रि–मनसुनमा नै भारी वर्षा भएकाले जमिन गलिसकेको सन्दर्भमा ठाउँठाउँमा बाढी पहिरोले मानवीय क्षति पुर्‍याइसकेको छ । मनसुनको शुरुआतमा नै पहिरोले धेरै मानिसको ज्यान लिइसकेको छ भने घरबारविहीन बनाएको छ । पर्वत र बझाङको ठूलो पहिरोमा मात्रै १५ जनाको ज्यान गएको छ । प्राधिकरणको अभिलेखअनुसार वैशाखदेखि अहिलेसम्म कूल ८०४ वटा विपद् घटनामा ११४ जनाको मृत्यु भएको छ ।

यी नदीमा बहाव बढ्नसक्ने

शुक्ररबारदेखि आइतबारसम्म कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर खतराको तहसम्म हुनसक्ने पूर्वानुमान गरिएको छ । खासगरी प्रदेश १ र २ को चुरे तथा तराई क्षेत्रमा बग्ने खोला तथा नदीमा ठूलो बाढी आउने हुनाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क र विशेष चनाखो रहन आग्रह गरिएको पोखरेलले बताए । उक्त समयमा तराईको झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायत जिल्लाका कतिपय होचो ठाउँमा डुबानको सम्भावना छ ।

प्राधिकरणले यी चार प्रदेशका अलावा प्रदेश नं ५ तथा कर्णाली, सुदुरपश्चिम प्रदेशका बासिन्दाले पनि यो समयमा सतर्क रहनुपर्ने आवश्यकता औँल्याएको छ । प्राधिकरणले आफ्नो टोल, बस्ती आसपासमा खोला नदीको बहावबारे जानकारी लिन र समुदायमा जानकारी दिनसमेत अनुरोध गरेको छ । नदीनालामा आउने बाढीको जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नं ११५५ र आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्री नं ११४९ चौबिसै घण्टा खुला रहने जनाइएको छ । यस्तै प्राधिकरणले मोबाइलमा आउने सन्देशलाई पनि विशेष ध्यान दिन भनेको छ । बाढी, पहिरो र डुबानबारे मिडियामा आउने सूचनालाई समेत ध्यान दिन प्राधिकरणले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्