[अपडेट] सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढी : दुई शव फेला, कम्तीमा ९ बेपत्ता, डेढ दर्जन घर बगे



साझापथ संवाददाता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बुधबार रातिको बाढीले बगाएका दुई जनाको शव फेला परेको छ । बाढी कम्तीमा ९ बेपत्ता, डेढ दर्जन घर बगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

भोटेकोसीसँगै वरपरका खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा व्यापक क्षति पुर्‍याएको छ । बाह्रबिसे–५ गाती जम्बुमा एल्मो ठाडो खोला बस्ती पस्दा १४ घर बगाएको छ । राति साढे १२ बजे आएको बाढीले त्यहाँका ११ जना बेपत्ता बनाएकोमा दुईको शव फेला परेको हो । स्थानीय युधिर पौडेलका अनुसार २० वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको मृत्यु भएको छ ।

अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनि, बाह्रबिसे इप्रका चौकीछेउको भाग र खाग्दलदेखि जम्बु बजारसम्मको सडक–पुल बाढीले बगाएपछि जनजीवन अस्तव्यस्त बनेको छ । बाह्रबिसे बजारछेउको ढिस्को खस्न थालेपछि तटीय क्षेत्रका स्थानीय त्रासमा छन् ।

जम्बुसम्म पुग्ने राजमार्गक्षेत्रको सम्पर्क टुटेपछि माथिल्लो गाउँको बाटो हुँदै प्रहरी टोली घटनास्थल गइरहेको प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । सेना र सशस्त्र प्रहरीको टोली भने घटनास्थल पुगिसकेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्